काठमाडौं , माघ २१ : देश विदेशमा अध्ययन गरेका तथा अनुभव प्राप्त गरेका विभिन्न क्षेत्रका गोरखाका जनताहरुको भेटघाट कार्यक्रम आज काठमाडौं ,रानीवन स्थित न्यु क्रियटिभ स्कुलको प्राङ्गणमा सम्पन्न भएको छ। हाल काठमाडौंमा बसोबास गरिरहेका सामाजिक भावना भएका गोरखाबासीहरुलाई सार्वजनिक आव्हान गरेर युवराज बस्ताकोटीले डाकेको भेलामा उपस्थित मानिसहरुले गोरखाको पुनःस्थापना र सामाजिक सांस्कृतिक विकासमा सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । सार्वजनिक हितमा जनचेतना जगाउने , एकता कायम गर्ने र गोरखाको नाम एक सुप्रसिद्द नाम भएकाले यसको सम्मानमा सबै जना मिलेर अगाडि बढ्ने प्रतिबद्धता सो अवसरमा गरिएको थियोे ।
गोरखामा विभिन्न क्षमता र दक्षता भएका मानिसहरु जन्मे हुर्केको तर जिल्लाको पहिचान संरक्षण र समग्र बिकासमा उति ध्यान पुर्याउन नसकेको प्रति सबै सचेत रहेको र अब उप्रान्त राजनीति दलहरु बिच आपसी सद्भाव कायम गराउन मद्दत गर्ने र बढि रुपमा समग्र गोरखाबासीको एकता र बिकासमा सहयोग गर्ने साथै संसारभर रहेका नेपाली भाषी गोरखाको कनेक्टिभिटि बढाउने कार्यमा एकजुट भई अगाडि बढ्ने सहमति भएको आयोजक समेत रहेका शिक्षाबिद् तथा विकास अध्यता युवराज बस्ताकोटीले बताए। समग्र नेपाल र नेपालीको हितमा गोरखाको क्षमताको प्रयोग होस् भन्ने हेतु यस्तो स्वयंसेवी कार्यक्रमलाई निरन्तरता दिईने समेत बताईएको छ । पुर्खाको योगदानले निर्माण भएको नेपाल र नेपालीको रक्षा र सम्बृद्दिको जिम्मेवारी पनि गोरखाकै रहेको समेत सो अवसरमा बताएको साथै गोरखा गौरव नेपालका रुपमा एकजुट भएर अगाडि बढ्ने बाचा पनि गरिएको छ ।








































