बुधबार बिहान ८ बजे सुरू हुनुपर्ने नेपाली कांग्रेस संसदीय दलको निर्वाचनलाई अझै सुरू भएको छैन। मतदानस्थलमा मोबाइल लैजानपाउने, नपाउने विवादले काङ्ग्रेस संसदीय दलमा मतदान अझै सुरू नभएको हो।
निर्वाचन संयोजक भिष्मराज आङ्दम्बे र निर्वाचन समिति सदस्य पुस्पा भुसाल मोबाइल लैजान सकिने भनिरहेका छन् भने अर्का निर्वाचनसमिति सदस्य प्रकाश स्नेही लैजान हुन्न भन्नेमा छन्।
निर्वाचनका केही प्रक्रिया मिलाउन बाँकी रहेकोले मतदान सुरू गर्न ढिला भएको निर्वाचन समिति सदस्य प्रकाश स्नेहीले जानकारी दिए।
‘निर्वाचनमा मोबाइल लैजान पाउने/नपाउने, कस्तोलाई बदर मत मान्ने लगायत सहमति जुट्न बाँकि छ’, उनले भने,‘निर्वाचनका केहीप्रक्रिया मिलाउन बाँकी रहेकोले मतदान सुरू हुन ढिला भएको हो।’
कांग्रेस संसदीय दल विधानले गोप्य मतदानको व्यवस्था गरेको छ।
यसैबीच निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
मतदान सुरू हुनुअघि प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन्।
कांग्रेस संसदीय दलको कार्यालय बाहिरको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। चेकजाँच गरेर सांसद्हरुलाई मात्र कार्यालयमाप्रवेश दिइएको छ।








































