काठमाडौं। लेखक कपिल बन्जाराले ‘पनौती’ शब्दलाई दुर्भाग्य वा असफलताको प्रतीकका रूपमा प्रयोग गर्ने प्रवृत्ति तत्काल रोक्न आग्रह गरेका छन्। उनले यसले काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पनौती नगरको पहिचान र स्थानीय बासिन्दाको आत्मसम्मानमाथि नकारात्मक असर पारिरहेको बताएका छन्।
बन्जाराका अनुसार भाषा केवल संवादको माध्यम नभई समाजको इतिहास, संस्कृति र पहिचानको संवाहक भएकाले कुनै भूगोलको नामलाई नकारात्मक अर्थमा प्रयोग गर्नु अनुचित हो। पछिल्लो समय सामाजिक सञ्जाल, मिडिया तथा जनबोलीमा ‘पनौती’ शब्दलाई अशुभ घटना वा दुर्भाग्यसँग जोडेर प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको उनको भनाइ छ।
उनले पनौती लिच्छविकाल र मल्लकालदेखि नेपालको महत्वपूर्ण ऐतिहासिक नगरका रूपमा परिचित रहेको उल्लेख गर्दै रोशी (रुद्रावती), पुण्यमाता तथा जनविश्वासअनुसार पद्मावती नदीको त्रिवेणी संगमस्थलका कारण धार्मिक दृष्टिले अत्यन्त पवित्र मानिने बताए। प्रत्येक १२ वर्षमा आयोजना हुने ऐतिहासिक मकर मेलाले समेत यसको धार्मिक महत्वलाई उजागर गर्ने उनको तर्क छ।
बन्जाराले पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर नेपालको प्राचीन काष्ठकलाको उत्कृष्ट नमुना रहेको तथा यहाँको ज्यापु संस्कृति, देवी नाच र अन्य सांस्कृतिक सम्पदाले पनौतीलाई नेपालको महत्वपूर्ण सांस्कृतिक केन्द्रका रूपमा स्थापित गरेको उल्लेख गरेका छन्।
उनले विशेषगरी छिमेकी मुलुकका चलचित्र, क्रिकेट ट्रोल तथा सामाजिक सञ्जालबाट प्रभावित भएर नेपाली मिडियाले समेत ‘पनौती’ शब्दलाई क्लिकबेट शीर्षक र नकारात्मक अर्थमा प्रयोग गर्न थालेको भन्दै यसप्रति गम्भीर हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
लेखकले मिडिया, बौद्धिक वर्ग र आम नागरिकलाई पनौती शब्दको भ्रामक र नकारात्मक प्रयोग नगर्न तथा नेपालको ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्पदाको सम्मान गर्दै सही भाषिक प्रयोग गर्न आग्रह गरेका छन्।








































