काठमाडौँ, ३१ जेठ । साहित्यकार शोभा अधिकारीद्वारा लिखित उत्प्रेरणामूलक पुस्तक ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’ बजारमा आएको छ। शनिबार राजधानी काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच उक्त कृतिको औपचारिक लोकार्पण गरिएको हो।
विशेष समारोहमा उपस्थित वक्ताहरूले यस पुस्तकले पाठकलाई आत्मपहिचान, क्षमता विकास र जीवनमा सकारात्मक सोच निर्माण गर्न महत्वपूर्ण मार्गनिर्देशन गर्ने धारणा राखेका थिए।
पुस्तक जीवनको मार्गदर्शक र सल्लाहकार: लेखिका अधिकारी
लोकार्पण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै लेखिका शोभा अधिकारीले पुस्तकले पाठकको आत्मविश्वास बढाउन र सही निर्णय लिन मद्दत गर्ने विश्वास व्यक्त गरिन्। उनले यस कृतिलाई जीवनको सच्चा साथी र सल्लाहकारका रूपमा चित्रण गरिन्।
“यो पुस्तकले आफूलाई चिन्न, आफ्नो क्षमता पहिचान गर्न र जीवनलाई सार्थक बनाउन प्रेरित गर्नेछ,” लेखिका अधिकारीले भनिन्, “यो एउटा आत्माको बीउ हो, जसले पाठकको जीवनमा सफलताको बिरुवा उमारेर हुर्काउन मद्दत गर्नेछ।”
अभिनयसँगै पुस्तक अध्ययनमा मेरो विशेष रुचि छ: दयाहाङ राई
समारोहमा विशिष्ट अतिथिका रूपमा उपस्थित चर्चित अभिनेता दयाहाङ राईले पुस्तकप्रति आफ्नो विशेष अभिरुचि रहेको खुलाए। आफूलाई विभिन्न विधाका पुस्तकहरू अध्ययन गर्न मन पर्ने उल्लेख गर्दै उनले आम पाठकका लागि यो कृति निकै संग्रहणीय र उपयोगी हुने बताए।
अभिनेता राईले भने, “मलाई पुस्तक पढ्न निकै रुचि लाग्छ र विभिन्न प्रकारका पुस्तकहरू पढ्ने गर्छु। आफूले पाएको ज्ञान र अनुभवलाई सहज रूपमा दर्शकमाझ पुर्याउन मैले अभिनयलाई माध्यम बनाएको हुँ। एक पाठकको रूपमा पुस्तक पढ्न त सक्छु, तर कृतिको गम्भीर समीक्षा गर्न भने मलाई त्यति सहज लाग्दैन।”
सकारात्मक जीवनका लागि उपयोगी कृति
समारोहमा जीवन विज्ञान अभियानका संस्थापक एल पी भानु शर्मा तथा डा. नवराज खतिवडालगायतका विशिष्ट व्यक्तित्वहरूले कृतिमाथि विस्तृत चर्चा गरेका थिए। उनीहरूले पुस्तकमा समेटिएका २७ वटा सूत्रहरू हरेक व्यक्तिको व्यावहारिक एवं व्यावसायिक जीवन परिवर्तन गर्न सहयोगी सिद्ध हुने उल्लेख गरे।
कार्यक्रममा साहित्य, कला, समाजसेवा तथा सञ्चार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।







































