काठमाडौं, २० जेठ जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हालैको भारत भ्रमणलाई लिएर गम्भीर टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यो भ्रमण मधेशी नेतृत्वलाई पाखा लगाउने रणनीतिको हिस्सा हुन सक्ने आशंका व्यक्त गरेका हुन्।
वर्तमान प्रधानमन्त्री (जसलाई उनले ‘बालेन’ भनी संकेत गरेका छन्) को विकल्प खोज्न र उनलाई कमजोर बनाउन यस्तो षडयन्त्र बुनिएको राउतको आरोप छ।
मधेशी नेतृत्वलाई सिध्याउने रणनीति
राउतले नेपालको इतिहासमा पहिलो पटक एक मधेशी मूलको व्यक्ति प्रधानमन्त्री बनेको उल्लेख गर्दै यसलाई संस्थागत हुन नदिने खेल भइरहेको दाबी गरे। उनले लेखेका छन्:
“रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण मधेशीलाई झन् अर्को सफाया गर्ने र तह लगाउने रणनीतिको रूपमा नहोस्। चाहे जसको भरमा होस्, जुनसुकै पार्टीबाट होस्, एउटा मधेशी प्रथम पटक नेपालको प्रधानमन्त्री बनेको छ। तर बडो ऐतिहासिक तामझामको मञ्चन गरेर उसको विकल्प खडा गर्ने र अरू मधेशीलाई झैं उसलाई पनि दुर्दिन र हैसियत देखाइदिने षडयन्त्र बुनिँदैछ।”
‘मधेशी नेतालाई स्थापित हुन दिइएन’
अध्यक्ष राउतले राज्यले विगतदेखि नै मधेशी नेताहरूलाई स्थापित हुन नदिएको पुरानो इतिहास दोहोरिन लागेको दुखेसो पोखेका छन्। तराई कांग्रेसदेखि वर्तमान राजनीतिक दलहरूसम्मलाई राज्यले विभिन्न बहानामा कमजोर बनाएको उनको तर्क छ।
उनका अनुसार मधेशी नेता र पार्टीहरूलाई:
- पार्टी फुट गराएर वा बदनाम गरेर,
- ‘देशद्रोही’ को विल्ला भिराएर,
- पक्राउ तथा इन्काउन्टरको भय सिर्जना गरेर,
- राजनीतिक रूपमा शून्यमा झारेर स्थापित हुन नदिइएको हो।
राउतले अहिलेको सत्ता राजनीतिको निशानामा वर्तमान प्रधानमन्त्री नै रहेको दाबी गर्दै यसप्रति सतर्क रहनुपर्ने संकेत गरेका छन्।








































