काठमाडौँ। हालै सम्पन्न माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएका काठमाडौँको तारकेश्वर नगरपालिकाका विद्यार्थीहरूलाई एक विशेष समारोहका बीच सम्मान गरिएको छ। शनिबार ‘परिवर्तन अभियान नेपाल’ ले तारकेश्वरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई सम्मान गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरू नै देशको भविष्य भएको बताए। शिक्षामा किताबी ज्ञानसँगै अनुशासन र नैतिक मूल्य मान्यताको उत्तिकै महत्त्व हुनेमा जोड दिँदै नेता केसीले विद्यार्थीहरूलाई जीवनको यो नयाँ खुट्किलोमा सही निर्णय लिन र आफ्नो रुचि अनुसारको विषय छनोट गर्न सुझाव दिए।
यस्तै, सांसद खुश्बु ओलीले सफल विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै आत्मनिर्भर बन्न आग्रह गरिन्। आफूले १६ वर्षकै उमेरदेखि काम गर्न थालेको अनुभव सुनाउँदै उनले भनिन्, “पढाइसँगै सीप र काम गर्ने बानी बसाल्नुस्, यसले तपाईंलाई आर्थिक रूपमा मात्र होइन, अनुशासित पनि बनाउँछ।” उनले अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई अरूसँग तुलना नगर्न र रुचिको विषय पढ्न दिन आग्रह गर्दै नेपालमै भविष्य खोज्न सक्ने वातावरण निर्माणका लागि आफूहरूले सदनमा नीतिगत तहमा काम गरिरहेको समेत बताइन्।

कार्यक्रममा अर्का सांसद केपी खनालले आफ्नो बाल्यकालदेखिको सामाजिक यात्रा स्मरण गर्दै विद्यार्थीहरूलाई स्वदेशमै भविष्य खोज्न र विदेश पलायन हुनुको सट्टा नेपालमै बसेर परिवर्तन ल्याउन ध्यान केन्द्रित गर्न आग्रह गरे। त्यस्तै, सांसद निष्कल राईले विद्यार्थीहरूलाई राजनीतिक र सामाजिक रूपमा सचेत रहँदै देश विकासमा लाग्न प्रेरित गरे।
नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले राज्यले नेपालको शैक्षिक सुधारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले नगरपालिकाको शैक्षिक अवस्थाबारे चर्चा गर्दै सामुदायिक र संस्थागत विद्यालयको नतिजामा सुधार आउनु खुसीको कुरा भएको बताइन्। नगरपालिकाले शिक्षा र खेलकुदलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ थियो।
परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले विद्यार्थीहरूका लागि संस्थाले आगामी एक महिनासम्म निःशुल्क शैक्षिक परामर्श (काउन्सिलिङ) उपलब्ध गराउने घोषणा गरे। साथै, आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका विद्यार्थीहरूका लागि विभिन्न प्लस टु कलेजहरूसँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे।

कार्यक्रममा पृथ्वी नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण काप्री, हिसान तारकेश्वरका अध्यक्ष धन पुन लगायत विभिन्न विद्यालयका प्रअहरूले पनि विद्यार्थीहरूलाई शुभकामना दिएका थिए।
सम्मान कार्यक्रमसँगै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए। विशेष गरी ‘श्री महाँकाल माई बाँसुरी खलक’ को सुमधुर बाँसुरी वादन र छात्राहरूको आकर्षक नृत्यले कार्यक्रममा थप रौनकता थपेको थियो। समारोहमा ४.० जीपीए ल्याउने विद्यार्थीहरू सहित सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरिएको थियो।









































