काठमाडौँ, ८ जेठ। सभामुख डोलप्रसाद अर्याल (डीपी) ले देश र नागरिकको आवश्यकता सुहाउँदो कानुन निर्माणमा सांसदहरूले विशेष ध्यान दिनुपर्ने बताएका छन्। पूर्वसांसद मञ्च नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
सभामुख अर्यालले पुराना कानुनको संशोधन, खारेजी तथा भविष्यको आवश्यकतालाई दृष्टिगत गरी विधायकी कार्यहरू अघि बढाउनुपर्नेमा जोड दिए। उनले हाल विधेयकको मस्यौदा निर्माणमा भइरहेको अभ्यासले व्यावहारिक पक्षलाई सम्बोधन गर्न नसकेको तर्फ सचेत गराए। “विधेयकको निर्माण कसले गरिदिन्छ, कसलाई सोधेर र कोसँग छलफल गरेर गरिन्छ?,” उनले प्रश्न गरे।
कानुन निर्माण प्रक्रियामा सरोकारवाला र सर्वसाधारणको सहभागिता हुनुपर्ने भन्दै उनले प्रयोगकर्ताको रायबिना बनाइने कानुन प्रभावकारी नहुने उल्लेख गरे। “हामी कानुन बनाइदिन्छौँ, तिमी प्रयोग गर भनेर लाद्ने कोसिस गर्छौँ,” सभामुख अर्यालले भने, “यसले गर्दा जनताले आफूले प्रयोग गर्ने कानुनबारे बेलैमा थाहा पाउँदैनन् र पछि जबर्जस्ती सो कानुन पालना गर्न बाध्य हुन्छन्। यस्तो अभ्यास अन्त्य हुनुपर्छ।”








































