नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना–५, तुइनखोलामा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान पहिरो खसेपछि दुईतर्फी यातायात नै ठप्प भएको हो।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार, सडक डिभिजन कार्यालयसँगको समन्वयमा अहिले पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो पन्छाउन प्रहरी टोली र उपकरण परिचालन गरिएको छ। सडक बन्द हुँदा यस खण्ड भएर गुड्ने सवारी साधन र यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्।








































