काठमाडौं— RK मनोरञ्जन समूहले राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता ‘मिस टुरिजम नेपाल २०२५’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ। विशेषगरी एसईई र प्लस टु परीक्षा दिएर बसेका युवतीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गर्न लागिएको यस प्रतियोगितामा सहभागी हुन इच्छुकहरूलाई आयोजकले आह्वान गरेको छ। युवतीहरूको आत्मविश्वास वृद्धि गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने लक्ष्य राखेको यस कार्यक्रमबाट तीन जना मुख्य विजेताहरू चयन गरिनेछन्। उत्कृष्ट तीनभित्र पर्न सफल सुन्दरीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै देशको झण्डा बोक्ने गौरवपूर्ण अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेताहरूले नगद पुरस्कार र विभिन्न आकर्षक उपहारहरूका साथै नेपाली मनोरञ्जन क्षेत्रमा व्यावसायिक यात्रा सुरु गर्ने अवसर समेत पाउनेछन्। आयोजकका अनुसार उनीहरूलाई म्युजिक भिडियो, चलचित्र तथा अन्य सञ्चार माध्यममा काम गर्ने वातावरण मिलाइनेछ। प्रतिस्पर्धालाई थप रचनात्मक र उपयोगी बनाउन सहभागीहरूका लागि विशेष प्रशिक्षण सत्रहरू समेत सञ्चालन गरिनेछ। जसमा नेपालका प्रतिष्ठित व्यक्तित्वहरूद्वारा डान्स, क्याटवाक, जनबोली (पब्लिक स्पिकिङ), र व्यक्तित्व विकासका कक्षाहरू प्रदान गरिनेछ। केवल बाह्य सौन्दर्यमा मात्र सीमित नभई, करियर निर्माण र नेतृत्वदायी क्षमता विकासमा केन्द्रित यस मञ्चको सदुपयोग गर्न आयोजक समूहले इच्छुक युवतीहरूलाई आग्रह गरेको छ।







































