काठमाडौं । चालु आरोहण सिजनमा सरकारले सर्वोच्च शिखर सगरमाथाबाट मात्रै १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ। पर्यटन विभागको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म सगरमाथा आरोहणका लागि ४७ समूहका ४ सय ६४ आरोहीले अनुमति लिएका छन्। ती आरोहीहरूबाट कुल १ अर्ब १ करोड २८ लाख २३ हजार ९ सय २५ रुपैयाँ राजस्व दाखिला भएको छ। सरकारले यस वर्षको शरद ऋतुदेखि पर्वतारोहण रोयल्टी शुल्कमा गरेको वृद्धिका कारण संकलन रकममा उल्लेख्य बढोत्तरी देखिएको हो।
सगरमाथाबाहेक अन्य हिमालमा पनि आरोहीहरूको आकर्षण देखिएको छ। यस वर्ष नेपालका कुल २९ वटा हिमाल आरोहणका लागि १ सय २७ समूहका १ हजार ७२ आरोहीले अनुमति लिएका छन्, जसबाट सरकारलाई कुल १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको छ। सगरमाथापछि ल्होत्से हिमालमा ९ समूहका १ सय ११ र अमादब्लममा ९ समूहका १ सय ४ जनाले अनुमति लिएका छन्। तथ्यांकअनुसार यस सिजनमा कुल ७९ देशका नागरिक हिमाल चढ्न नेपाल आएका छन्।
आरोहीहरूको संख्याका आधारमा यस वर्ष चीन र अमेरिकाको वर्चस्व देखिएको छ। कुल आरोहीमध्ये चीनबाट १ सय ३९ र अमेरिकाबाट १ सय ३२ जना नेपाल आएका छन्। त्यस्तै बेलायतबाट ७२ र रुसबाट ६६ जनाले अनुमति लिएका छन्। विशेषगरी सगरमाथा आरोहणका लागि मात्रै ५५ देशका आरोहीहरू सक्रिय छन्, जसमा चिनियाँ (१०० जना), अमेरिकी (६७ जना) र भारतीय (५८ जना) आरोहीहरूको संख्या सबैभन्दा धेरै रहेको पर्यटन विभागले जनाएको छ।






































