इरानबाट कच्चा तेल आयात गर्ने चिनियाँ कम्पनीहरूमाथि अमेरिकाले लगाएको पछिल्लो प्रतिबन्धलाई चीनले ‘अवैध’ भन्दै अस्वीकार गरेको छ। चीनको वाणिज्य मन्त्रालयले एक आधिकारिक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको ठहर गरेको हो।
‘एकतर्फी प्रतिबन्ध मान्दैनौँ’ वाणिज्य मन्त्रालयका अनुसार चिनियाँ कम्पनीहरूले अन्य मुलुकसँग गर्ने सामान्य आर्थिक तथा व्यापारिक गतिविधिमा अवरोध पुर्याउने अधिकार अमेरिकालाई छैन। “यी प्रतिबन्धहरूले अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरूको धज्जी उडाएका छन्,” विज्ञप्तिमा भनिएको छ, “चीन सरकार सधैं संयुक्त राष्ट्रसंघको स्वीकृतिविना लगाइने यस्ता एकतर्फी प्रतिबन्धहरूको विरोध गर्दछ।”
मन्त्रालयले आफ्ना कम्पनी तथा संस्थाहरूलाई अमेरिकी निर्देशन पालना नगर्न समेत निर्देशन दिएको छ।
विवादको केन्द्रमा ‘लाखौँ ब्यारेल’ तेल अमेरिकाले हालै एक चिनियाँ कम्पनीले ‘लाखौँ ब्यारेल’ इरानी कच्चा तेल आयात गरी इरानलाई अर्बौँ डलर आम्दानी गराएको आरोपमा प्रतिबन्ध लगाएको थियो। चीनले उक्त कम्पनीको नाम स्पष्ट नपारे पनि अमेरिकाको यो कदमले दुई शक्ति राष्ट्रबीचको व्यापारिक युद्धलाई थप चर्काएको छ।
ट्रम्पको भ्रमणअघि बढ्यो तनाव विशेष कुरा के छ भने, यो प्रतिबन्ध यस्तो समयमा आएको छ जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै महिना चीन भ्रमणमा जाने र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग निर्णायक वार्ता गर्ने तयारीमा छन्। कूटनीतिक वृत्तमा अमेरिकाको यो कदमलाई वार्ताअघिको ‘बार्गेनिङ चिप’ (दबाब दिने रणनीति) को रूपमा समेत हेरिएको छ।








































