हालै देखिएको इन्धन संकट समाधानका लागि सरकारले ल्याएको इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारी (इभी) मा रूपान्तरण गर्ने नीतिलाई तत्काल प्रभावकारी बनाउन विज्ञहरूले आग्रह गरेका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), पुल्चोक क्याम्पस, थापाथली क्याम्पस र काठमाडौँ विश्वविद्यालयद्वारा ललितपुरमा आयोजित ‘नेपालमा इभी रूपान्तरणका सम्भावना, अवसर र चुनौतीहरू’ विषयक कार्यशालामा सहभागी वक्ताहरूले सो कुरामा जोड दिएका हुन्। कार्यशालामा सवारी आयात, प्राविधिक पक्ष र आर्थिक सम्भाव्यताका साथै आन्तरिक दहन इन्जिन (आइसिई) लाई विद्युतीय पावर ट्रेनमा बदल्ने प्रक्रिया (रेट्रोफिटिङ) बारे घनीभूत छलफल भएको थियो।
कार्यक्रममा नास्टका सचिव रवीन्द्र ढकालले इभी रूपान्तरणका लागि आर्थिक र वातावरणीय पक्षलाई समेटेर ठोस मापदण्ड बनाउनु पर्ने आवश्यकता औँल्याउनुभयो। त्यस्तै, नास्टका प्राविधिक सङ्काय प्रमुख रोशन पाण्डेले विद्युतीय रूपान्तरण आम नेपाली उपभोक्ताका लागि आर्थिक रूपमा किफायती र पहुँचयोग्य विकल्प हुनुपर्ने धारणा राख्नुभयो। नीति निर्माता, इन्जिनियर र अनुसन्धानकर्ताहरूको सहभागिता रहेको उक्त कार्यक्रममा रेट्रोफिटिङको प्राविधिक विश्लेषण, लागत र नेपालको नीतिगत मार्गचित्रबारे कार्यपत्रहरू समेत प्रस्तुत गरिएको थियो, जसले देशको यातायात क्षेत्रलाई विद्युतीकरण तर्फ लैजाने स्पष्ट खाका प्रस्तुत गरेको छ।








































