काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले देशभरका अस्पतालमा उपलब्ध निःशुल्क (फ्री) बेडको विवरण अनलाइनमार्फत हेर्न मिल्ने नयाँ प्रणाली सुरु गरेको छ।
मन्त्रालयले सुरु गरेको Free Health Portal हेर्न यहाँ क्लिक गर्नुहोस् मार्फत नागरिकहरूले अब घरमै बसेर विभिन्न सरकारी तथा निजी अस्पतालमा कति वटा निःशुल्क बेड खाली छन् भन्ने जानकारी रियल–टाइममा प्राप्त गर्न सक्नेछन्।
सरकारले सबै अस्पतालमा कम्तीमा १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउने निर्णय कार्यान्वयन गरिरहेको सन्दर्भमा यो डिजिटल प्लेटफर्म ल्याइएको हो। यसबाट विपन्न, असहाय तथा उपचार खर्च वहन गर्न नसक्ने बिरामीलाई लक्षित सेवा पहुँचमा सहजता हुने अपेक्षा गरिएको छ।
यो प्रणालीले अस्पतालहरूमा निःशुल्क सेवाको उपलब्धता, लाभग्राहीको विवरण तथा सेवा उपयोगको अनुगमन गर्न पनि सहयोग गर्ने मन्त्रालयको भनाइ छ। साथै, स्वास्थ्य क्षेत्रमा पारदर्शिता बढाउने र बिरामीलाई आवश्यक समयमा उचित अस्पताल छनोट गर्न सहयोग पुर्याउने उद्देश्य राखिएको छ।
सरकारले आगामी दिनमा सबै अस्पताललाई यो प्रणालीमा आबद्ध गर्दै देशभर एकीकृत स्वास्थ्य सूचना प्रणाली लागू गर्ने योजना समेत अघि बढाएको जनाएको छ।








































