- ADVERTISEMENT -
- ADVERTISEMENT -

युवराज बस्ताकोटीको स्टाटसले कांग्रेसभित्र ‘विशेष महाधिवेशन’ वहसलाई कता लैजाला 

January 10, 2026
72
Shares

काठमाडौं , पौष २६:        लोकतान्त्रिक विधि र सुसभ्य राजनीतिका पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएका बौद्धिक युवा युवराज बस्ताकोटीको एक फेसबुक स्टाटसले नेपाली कांग्रेसभित्र चलिरहेको विशेष महाधिवेशन सम्बन्धी बहसलाई थप तीव्र बनाएको छ। उक्त स्टाटसमार्फत उनले विशेष महाधिवेशनको पक्ष–विपक्षमा देखिएका नेता कार्यकर्तालाई तीन धारमा विभाजन गर्दै पार्टीभित्रको वैचारिक द्वन्द्वलाई स्पष्ट रूपमा प्रस्तुत गरेका छन्।

बस्ताकोटीले कांग्रेसभित्रका धारणा यसरी वर्गीकृत गरेका छन्।

पहिलो धार, तिब्र परिवर्तन चाहनेहरू, जसलाई पनि दुई समूहमा बाँड्न सकिने उनको भनाइ छ। एक समूहले “परिवर्तन चाहियो, जसरी पनि” भन्ने धारणा राखे पनि पुरानै शैलीमा दाइ–भाइ, भागबण्डा र सत्ताकेन्द्रित अभ्यासबाट अघि बढ्न चाहन्छन्। अर्को समूह भने न्यायसहितको, मेरिटोक्रेसीमा आधारित र राजनीतिक चरित्र भएका गुणस्तरीय नेतृत्व आउने गरी तिब्र परिवर्तनको पक्षमा रहेको उनले उल्लेख गरेका छन्।

दोस्रो धार, विस्तारै परिवर्तन गरौँला भन्ने सोच राख्नेहरू हुन् भने तेस्रो धार, सकेसम्म यथास्थितिमै चलोस् भन्ने मानसिकतामा रहेका कार्यकर्ताको रहेको उनको टिप्पणी छ।

आफू भने पहिलो धारको दोस्रो समूहमा रहेको स्पष्ट गर्दै बस्ताकोटीले लेखेका छन्, “म नयाँ बोतलमा पुरानो रक्सी जस्तो परिवर्तनको पक्षमा छैन। न्याय स्थापित हुने गरी नेतृत्व परिवर्तन हुनुपर्छ।” उनका अनुसार विशेष महाधिवेशन अरू दृष्टिकोणलाई गाली गर्ने विषय होइन, बरु पार्टीका गम्भीर समस्याको प्राथमिक उपचार मात्र हो।

उनले कांग्रेसको अवस्था सामान्य सुधारले नचल्ने भन्दै सैद्धान्तिक तथा सांगठनिक ‘मेजर सर्जरी’ आवश्यक भइसकेको दाबी गरेका छन्। “पार्टीलाई शून्यबाट पुनः विनिर्माण गर्नुपर्ने अवस्था आएको छ,” उनले स्टाटसमा उल्लेख गरेका छन्। आफ्नो विचार स्थापित गर्न पर्याप्त शक्ति नहुँदा विशेष महाधिवेशनलाई माध्यम बनाएर पार्टी पुनःसंरचनाको प्रक्रिया सुरु गर्नुपर्ने उनको तर्क छ।

बस्ताकोटीको यो अभिव्यक्तिलाई कांग्रेसभित्रको वर्तमान बहसको प्रतिबिम्बका रूपमा हेरिएको छ। विशेष महाधिवेशन केवल नेतृत्व फेरबदलको विषय कि पार्टीको गहिरो वैचारिक र सांगठनिक पुनर्निर्माणको अवसर भन्ने प्रश्नमा उनको स्टाटसले थप बहस सिर्जना गरेको छ।

- ADVERTISEMENT -