गोरखा । युवा पर्यटन व्यवसायी, सम्भव नेपालका अध्यक्ष तथा नेपाली कांग्रेस गोरखाका नेता एवम् महासमिति सदस्य प्रेमकुमार खत्रीले सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका छन्। हालै उनले नेपाल प्रहरी र शैक्षिक क्षेत्रलाई महत्वपूर्ण सहयोग पुर्याएका छन्।
भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सीसीटीभी मर्मतलगायत कार्यका लागि खत्रीले नेपाल प्रहरीलाई करिब ८ लाख रुपैयाँ बराबरको सहयोग गरेका छन्। उक्त सहयोगको कदर गर्दै नेपाल प्रहरीले उनलाई सम्मानसमेत गरेको छ।
यसैबीच, गोरखा जिल्लाको आरुघाट गाउँपालिका–८ आरुपोखरीस्थित दरबार माध्यमिक विद्यालयमा करिब ४ करोड रुपैयाँको लगानीमा नयाँ भवन निर्माण गरिएको छ। सो विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका सम्भव नेपालका अध्यक्ष खत्रीको पहलमा सेमिनार हल, तीनवटा कक्षाकोठा, चमेना कक्ष, सुविधासम्पन्न शौचालय तथा बाल उद्यानसहितको भवन निर्माण गरिएको हो।
विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद भट्टका अनुसार कक्षाकोठाको अभावका कारण पठनपाठनमा समस्या भइरहेको अवस्थामा खत्री र उनको संस्थासँग सहयोगको आग्रह गरिएको थियो। “हाम्रो अनुरोधलाई उहाँले सहर्ष स्वीकार गर्दै सुविधासम्पन्न भवन, शौचालय र बाल उद्यान निर्माण गरिदिनु भएको छ,” भट्टले भने।
नवनिर्मित भवन सोमबार एक कार्यक्रमका बीच अध्यक्ष खत्रीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष मुरारी खनाल र प्रधानाध्यापक भट्टलाई हस्तान्तरण गरेका हुन् भने भवनको औपचारिक उद्घाटन आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङले गरेका थिए।
सम्भव नेपालका परियोजना व्यवस्थापक उत्तम अधिकारीका अनुसार भवनमा २ सयभन्दा बढी अट्ने क्षमताको सेमिनार हल, कुर्सी, प्रोजेक्टर, फर्निचरसहितका तीन कक्षाकोठा, चमेना कक्षका लागि आवश्यक सामग्री, सात कोठे शौचालय र बाल उद्यान निर्माण गरिएको छ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले पूर्व विद्यार्थीको हैसियतले आफ्नो दायित्व पूरा गरेको बताए। आफू भुइँमा बसेर पढेको स्मरण गर्दै उनी सम्बोधनका क्रममा भावुकसमेत बने।
“जस ठाउँमा जन्मियौं, हुर्कियौं र पढ्यौं, त्यसलाई कहिल्यै बिर्सनु हुँदैन,” उनले भने, “सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने सरकारमाथि मात्र निर्भर रहनुपर्दैन।”
खत्रीले विगत केही वर्षदेखि सो विद्यालयसहित गाउँपालिकाभरका विद्यार्थीहरूका लागि ट्र्याकसुट, पोशाक र शैक्षिक सामग्री नियमित रूपमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उक्त अवसरमै विद्यालयको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस पनि सम्पन्न भएको थियो। गाउँपालिका अध्यक्ष राजु गुरुङ प्रमुख अतिथि रहेको कार्यक्रममा निवर्तमान अध्यक्ष पूर्णबहादुर दाहाल विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा बाल खेल, खुला अंग्रेजी वक्तृत्वकला प्रतियोगिता, अन्तरसदनात्मक नृत्य प्रतियोगिता लगायतका गतिविधि सम्पन्न भएका थिए। साथै विभिन्न अक्षयकोष दाताबाट विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शैक्षिक पुरस्कार वितरण गरिएको प्रधानाध्यापक भट्टले जानकारी दिए।








































