अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ (डाइभर्सिटी भिसा) कार्यक्रम स्थगित गरेको छ। ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गरी भएको गोलीकाण्डपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त कार्यक्रम रोक्ने निर्णय गरेका हुन् ।
घटनाका संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते सन् २०१७ मा डिभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड प्राप्त गरेका व्यक्ति थिए। उनी बिहीबार मृत अवस्थामा फेला परेका थिए।
होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले ट्रम्पको निर्देशनअनुसार ग्रीन कार्ड लटरी योजना स्थगित गरिएको जानकारी दिँदै अमेरिकी नागरिकको सुरक्षालाई प्राथमिकता दिइएको बताइन्। अमेरिकी अधिकारीहरूका अनुसार भालेन्तेले यसै साता एमआईटीका प्राध्यापक नुनो लुरेइरोको पनि हत्या गरेको आशङ्का छ।
डाइभर्सिटी भिसा कार्यक्रमअन्तर्गत आप्रवासन दर कम भएका देशका आवेदकहरूमध्येबाट प्रत्येक वर्ष चिठ्ठा प्रणालीमार्फत अधिकतम ५० हजार भिसा दिइँदै आएको थियो। यस कार्यक्रममार्फत नेपालीहरू पनि अमेरिका जाने गरेका छन् ।



















