नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स सबैभन्दा बढी समर्थक भएको टिमका रूपमा देखिएको छ । सोसल मिडियामा समेत अरु टिमभन्दा बढी फलोअर्स भएको रोयल्सले मैदानमा पनि उल्लेख्य दर्शकको साथ पाउने गरेको छ ।
टिकट बिक्री हेर्दा पनि अरु टिमको म्याचभन्दा सुदूरपश्चिम रोयल्सको म्याचमा बढी देखिन्छ । कतिसम्म भने, लिग चरणमा उसले खेल्ने बाँकी दुई म्याचको टिकट बिक्री भइसकेको छ ।
४ डिसेम्बरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीचको खेल छ । खल्ती एपमा यो खेलका लागि टिकट ‘सोल्ड आउट’ भइसकेको छ । आगामी शनिबार अर्थात ६ डिसेम्बरमा हुने विराटनगर र सुदूरपश्चिमबीच हुने म्याचको समेत टिकट बिक्री भइसकेको छ ।

जबकि, २ डिसेम्बर अर्थात आज भइरहेको जनकपुर र चितवन तथा पोखरा एभेञ्जर्स र कर्णाली याक्सबीचको म्याचका लागि अहिले पनि टिकट उपलब्ध छ । ३ डिसेम्बर अर्थात भोलि हुने विराटनगर भर्सेस कर्णाली याक्सको म्याच हेर्न पनि टिकट पाइन्छ । यो खेलमा विश्वचर्चित खेलाडी फाफ डु प्लेसिस खेल्ने सम्भावना छ । तैपनि समर्थकहरूमा सुदूरपश्चिम रोयल्स मैदानमा हुँदाजस्तो उत्साह देखिएको छैन ।
त्रिवि क्रिकेट स्टेडियममा सुदूरपश्चिम रोयल्सले अहिलेसम्म ५ म्याच खेलिसकेको छ, जहाँ दर्शक खचाखच थिए । क्रिकेटको माहोल बढिरहेको भूगोल, अघिल्लो सिजनको उपविजेता हुनु, सन्तुलित टिम र राष्ट्रिय टोलीमै चम्केका केही खेलाडीका कारण सुदूरपश्चिम रोयल्सलाई समर्थन गर्नेहरू बढी देखिएका छन् गत सिजनको फाइनलमा जनकपुर बोल्ट्ससँग हारेर सुदूरपश्चिम रोयल्सले च्याम्पियन बन्ने अवसर गुमाएको थियो, जबकि लिग चरण र प्लेअफमा उसले जनकपुरलाई नै पराजित गरेको थियो ।
यसपल्ट जनकपुर बोल्ट्सले लगातार चार खेल हारिसकेको छ भने सुदूरपश्चिम रोयल्सले अहिलेसम्म खेलेका पाँच खेलमै जित हात पारेको छ । सुदूरपश्चिमको अपराजित यात्रा र टिमको सन्तुलन हेरेर धेरैले उसलाई उपाधि दाबेदार टिमका रूपमा हेरेका छन् ।









































