सातादेखि मुलुक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले गुञ्जायमान छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई यसका म्याच खेलाउन भ्याई नभ्याई छ । मंसिर सुरूदेखि यो मैदानमा हरेक दिन एकदेखि दुईवटा म्याच भइरहेका छन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्तरका क्रिकेट मैदान अन्यत्र पनि निर्माण भएको भए काठमाडौं बाहिरका क्रिकेटप्रेमीले पनि प्रत्यक्ष रूपमा यो खेलको मजा लिन सक्थे । क्रिकेट मैदानकै अभावमा नेपाल क्रिकेट संघ (क्यान) ले यो प्रतियोगिताका म्याच उपत्यकाबाहिर सञ्चालन गर्न सकेको छैन ।
अघिल्ला सरकारले यही मेसो आधार मानेर विराटनगरको बैजनाथपुरमा सुविधा सम्पन्न गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरू गरेको थियो । तर भदौ २३ र २४ को जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले यसको निर्माण कार्य रोकेपछि राष्ट्रिय गौरवको यो योजना अलपत्र परेको छ ।
दलीय सरकारको पालामा दुई वर्षअघि राष्ट्रिय गौरवको आयोजना अन्तर्गत विराटनगर–१९ बैजनाथपुरमा निर्माण हुने भनिएको सुविधा सम्पन्न गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रक्रिया सुरू गरेको थियो ।
त्यसका लागि राखेपले डीपीआर तयार गरी वातावरणीय प्रभाव मूल्यांकन समेत गरेर स्रोत सुनिश्चितताको लागि अर्थ मन्त्रालय समक्ष पठाएको थियो । राखेप इन्जिनियर केवल परियारले क्लिकमान्डुसँग भने, ‘जेनजी आन्दोलनपछि गठित सरकारले सबै कार्य रोकेकाले निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।’
अघिल्लो सरकारले यो योजनाका लागि १६ करोड विनियोजन गरेको थियो । तर हालको सरकारले सबै प्रक्रिया रोकेको छ । ‘टेण्डर प्रक्रियामा गएर योजनालाई अगाडि बढाउने राखेपको तयारी थियो । तर जेनजी आन्दोलनपछि गठन भएको सरकारले सबै प्रक्रिया रोक्का गर्दा गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य जस्ताको तस्तै रहेको छ,’ परियारले भने ।









































