जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जेनजी आन्दोलनका घाइतेहरूलाई वर्गीकरणका लागि प्रशासनमा आउन आग्रह गरेको छ ।
प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै वर्गीकरणका लागि यही मंसिर १२ गते मध्यान्ह १२ बजे जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सभाहलमा आफैं उपस्थित हुन आग्रह गरेको हो ।
‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिबाट जेनजी घाइतेहरूको वर्गीकरण कार्य प्रारम्भ भएको र घाइतेहरू मध्ये अधिकांशको वर्गीकरण भइसकेको छ । यद्यपि उक्त दिन विविध कारणले वर्गीकरणको लागि उपस्थित हुन नसकी छुट भएका घाइतेहरूको वर्गीकरण कार्यका लागि मिति २०८२/०८/१२ गते दिनको १२ बजे जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सभाहलमा स्वयम् उपस्थित हुनुहुन यसै सूचनाबाट सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ जारी सूचनामा भनिएको छ ।
आवतजावत तथा हिँडडुलमा कठिनाइ हुनेहरूका लागि प्रशासनले एम्बुलेन्सको समेत व्यवस्था गरेको छ । त्यसका लागि ९८५१३३८३२२ मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।
यस्तै, हालसम्म अस्पतालमा उपचाररत घाइतेहरूको हकमा वर्गीकरण समिति नै अस्पतालमा पुगेर वर्गीकरण गरिने जारी सूचनामा भनिएको छ ।









































