अमेरिकाको हालै कडा बनाइएको आप्रवासन नीतिका कारण त्यहाँ अवैध रूपमा बसोबास गरिरहेका ३५ जना नेपाली मंगलबार राति नेपाल फर्काइएका छन्। उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा प्रारम्भिक सोधपुछ गरी आफ्नो-आफ्नो गन्तव्यतर्फ पठाइए।
ब्युरो प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीका अनुसार डिपोर्ट गरिएका सबै जना ‘डंकी रुट’ भनेर चिनिने अवैध मार्ग प्रयोग गरेर अमेरिका पुगेका थिए। यस प्रक्रियामा उनीहरूले विभिन्न व्यक्ति र समूहमार्फत ठूलो रकम बुझाएको स्वीकारे पनि, हाल उनीहरूले ती दलालविरुद्ध उजुरी दिन नचाहेको प्रहरीको भनाइ छ।
यसरी जानेहरुले ८० लाख रुपैयाँसम्म तिरेको पाइएको छ। विभिन्न देश हुँदै अवैध तरिकाले छिरेको २ वर्षपछि पनि अमेरिकाले डिपोर्ट गरेको छ। फर्काइएकाहरू अधिकांशजसो रुकम/दाङतिरका छन्।
फर्काइएका नेपालीहरूले अमेरिका फर्काइँदाको यात्रा निकै कष्टकर भएको बताए। उनीहरूलाई जहाज चढाइएकै दिनदेखि हातमा हतकडी र खुट्टामा नेल लगाइएको, व्यक्तिगत सामान बोरामा हालेर ल्याइएको र लामो यात्राभर राम्रोसँग सुत्न र खानसमेत नपाएको गुनासो गरेका छन्।
उनीहरूका अनुसार मानसिक रूपमा अत्यन्त थकित अवस्थामा भए पनि आफूलाई अमेरिका पुर्याउने व्यक्तिहरूसँग व्यक्तिगत रूपमा कुरा गर्ने बताएका छन्।
डिपोर्ट भएकामध्ये ३६ वर्षीया एक महिला, १९ वर्षीय युवक पनि छन्। केही विद्यार्थी उमेर समूहका युवाहरू समेत परेका छन्। मुख्य रूपमा पढाइ र कामको आशमा अमेरिका पुगेका ती युवाहरू फर्किँदा निकै निराश र मानसिक रूपमा कमजोर देखिएको सोधपुछमा संलग्न प्रहरीले जनाएको छ।









































