बंगलादेशले भारतसँग पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीको माग गरेको छ ।
बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सोमबार हसिनालाई मृत्युदण्डको सजाय सुनाएपछि सुपुर्दगीको माग गरिएको हो ।
हसिनासँगै पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । दुवै हाल भारतमा बस्दै आएका छन् ।
बंगलादेशको विदेश मन्त्रालयले भन्यो, ‘हामी चाहन्छौं कि भारत सरकारले तुरुन्तै दुवै दोषीलाई बंगलादेशी अधिकारीहरूलाई सुम्पियोस् । दुई देशहरू बीचको सुपुर्दगी सन्धिअनुसार यो भारतको जिम्मेवारी हो ।’
विज्ञप्तिमा त्यसअघि लेखिएको थियो, ‘अन्तर्राष्ट्रिय फौजदारी अदालतले आफ्नो फैसलामा फरार शेख हसिना र असदुज्जमान खान कमललाई दोषी ठहर गरेको छ । मानवता विरुद्धको अपराधमा दोषी ठहरिएका यी व्यक्तिहरूलाई शरण दिने कुनै पनि देशलाई अमित्रतापूर्ण व्यवहार र न्यायको अवहेलनाको गम्भीर कार्य मानिनेछ ।’
जवाफमा भारतीय विदेश मन्त्रालयले यसबारे जानकारी रहेको बताएको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भन्यो, ‘बंगलादेशको न्यायाधिकरणले शेख हसिनाको बारेमा आफ्नो फैसला सुनाएको कुरा जानकार छ ।’
‘निकट छिमेकीको रूपमा भारत शान्ति, लोकतन्त्र, समावेशीकरण र स्थिरतासहित बंगलादेशका जनताको हितप्रति प्रतिबद्ध छ । यस उद्देश्यका लागि भारत सधैं सबै सरोकारवालाहरूसँग रचनात्मक रूपमा संलग्न हुनेछ,’ मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ ।
हसिनामाथि गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहको क्रममा मानवता विरुद्धको अपराधको आरोप लगाइएको थियो । उनी भारतमा निर्वासनमा बस्दै आएकीले उनको अनुपस्थितिमा मुद्दा चलाइएको थियो ।
यो फैसला न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारको अध्यक्षतामा रहेको तीन सदस्यीय बंगलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण-१ ले दिएको हो ।
न्यायाधिकरणले शेख हसिना सहित तीनै जना अभियुक्तलाई दोषी ठहर गरेको छ । हसिनालाई उनको विरुद्धका पाँच मुद्दामध्ये दुईमा मृत्युदण्डको सजाय सुनाइएको छ भने अर्को मुद्दामा उनलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।
पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । पूर्व प्रहरी महानिरीक्षक अब्दुल्लाह अल मानुनलाई साक्षी बनेपछि पाँच वर्षको जेल सजाय सुनाइएको छ ।








































