काठमाडौं महानगरपालिकाले आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घर/कम्पाउण्डमै सुरक्षित राख्न महानगवासीलाई आग्रह गरेको छ ।
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर विसर्जनमा अवरोध भएपछि महानगरको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै सडक तथा सार्वजनिक स्थलमा जथाभावी फोहोर नफाल्न आग्रह गरेको हो
महानगरपालिकाले भनेको छ, ‘काठमाडौं उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहर विसर्जनमा अवरोध भएकोले फोहर विसर्जन गर्न नसकिएको हुँदा अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घर/कम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनुरोध छ ।’

स्थानीयबासीका अवरोधका कारण बुधबारदेखि बञ्चरेडाँडामा फोहर विसर्जन हुन सकेको छैन । काठमाडौं उपत्यकाबाट फोहर बोकेर गएका करिब ४० गाडी बुधबार स्थानीयले फर्काइदिएका थिए ।
फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधानको लागि संघर्ष गर्दै आएका स्थानीय आफ्ना माग पूरा नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।








































