जेनजी आन्दोलनका समर्थक कर्मचारीहरूले एक वर्षयता भएका सरुवाको छानविन गर्न माग गरेका छन् । विगत एक वर्षमा भएका सरुवाहरूको छानविन गर्न कार्यदल बनाउनुपर्ने माग गरेका हुन् ।
जेनजी आन्दोलनका समर्थनमा रहेका कर्मचारीका तर्फबाट गणेश घिमिरेको नेतृत्वमा संघीय मामिला तथा सामान्य प्रशासन सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदैछन् । उनीहरूले साढे १ बजे मन्त्रालयमा ज्ञापनपत्र बुझाउन लागेको घिमिरेले शिलापत्रलाई जानकारी दिए । घिमिरेका अनुसार, पहिलो चरणमा विगत एक वर्षमा भएको सरुवाको छानविन गर्नुपर्नेछ ।
सरुवामा आर्थिक लेनदेन र स्वार्थसहित भएको भन्दै घिमिरे पहिलो चरणमा एक वर्षको अनुसन्धान गर्न माग गरिएको हो । त्यसो गर्दा सरुवामा लेनदेन गर्नेहरूलाई कारबाही गर्न सजिलो हुने पनि घिमिरेको भनाइ छ । जेनजी आन्दोलनको समर्थनमा रहेको कर्मचारीको टोलीले मुख्यसचिव एकनारायण अर्याल, तत्कालीन गृहसचिव गोकणप्रसाद दुवाडी र संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयको राजीनामा पनि मागेका थिए । उनीहरूले भेला आयोजना गरी आन्दोलनको तयारी पनि गरेका थिए ।








































