जेनजी पुस्ताको प्रदर्शनका क्रममा सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका २२ वटा गाडीमा आगजनी भएको छ ।
“हाम्रो मन्त्रालयका २२ वटा गाडीमा आगजानी भएको छ । सबै गाडी ध्वस्त भएका छन्,” संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले भने, “मन्त्रालय भवनमा पनि आगजनीले क्षति गरेको छ ।”
जेनजीले भदौ २३ गते काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन गरेका थिए । सुशासन, बन्द गरिएका सामाजिक सञ्जाल खुलाउनु पर्ने र भ्रष्टाचारविरुद्ध जेनजीले प्रदर्शन गरेका थिए ।
भदौ २३ गतेको प्रदर्शनमा प्रहरीले गरेको दमनमा देशभर १९ जनाको मृत्यु भएपछि भदौ २४ गतेको प्रदर्शन हिंसात्मक बनेको थियो ।
प्रदर्शनकारीले भदौ २४ गते सिंहदबार र त्यहाँ रहेका अन्य मन्त्रालय, सर्वोच्च अदालत, संसद् भवनलगायत सरकारी तथा निजी भवनहरूमा तोडफोड र आगजनी गरेका थिए ।
“हाम्रो मन्त्रालयको ग्राउन्ड फ्लोर आगजनीले पूरै क्षति गरेको छ । त्यहाँ रहेका कागजात, कम्प्युटर, ल्यापटप, टेबल, कुर्सी सबै जलेका छन् । माथिल्ला तलाहरूमा भने आगोले असर गरेको छैन,” प्रवक्ता पराजुलले भने ।








































