इन्डोनेसियाको पर्यटकीय शहर बालीमा २५ अगस्टदेखि २९ अगस्टसम्म सम्पन्न मिस वल्र्ड टुरिजम २०२५ मा नेपालका दुई प्रतिनिधिले उल्लेखनीय सफलता हासिल गरेका छन्।
मोरङ, बेलबारीकी गरिमा गुरुङले मिस वल्र्ड टुरिजम पपुलरिटी २०२५ र मिस वल्र्ड टुरिजम एलिगेन्स २०२५ उपाधि जितेकी छन् भने लमजुङकी रेबिका मगरले मिस वल्र्ड टुरिजम एसिया २०२५ को ताज पहिरेकी छन्।
गरिमा गुरुङले आफ्नो यात्रा मिस ग्रान्ड नेपाल २०२५ बाट मिस वल्र्ड टुरिजम नेपाल २०२५ को रूपमा सुरु गरेकी थिइन्। उनले बुद्धिमत्ता, शालीनता, हँसिलो स्वभाव र नेपालको सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यलाई प्रवद्र्धन गर्ने प्रतिबद्धताका कारण निर्णायक मण्डलदेखि विश्वव्यापी दर्शकसम्मको मन जितिन्।
त्यस्तै, मिस ग्रान्ड गण्डकी २०२५ बाट आफ्नो यात्रा सुरु गरेकी रेबिका मगरले बालीमा एसियाली प्रतिस्पर्धीहरूलाई पछि पार्दै मिस वल्र्ड टुरिजम एसिया उपाधि हात पारेकी हुन्। उनको अनुग्रह, संस्कृति र पर्यटनको वकालत तथा प्रभावशाली प्रस्तुतिले निर्णायक मण्डल प्रभावित बनेको थियो।
यो उपलब्धिले गरिमा र रेबिका दुवैलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालका सांस्कृतिक दूतका रूपमा स्थापित गरेको छ। उनीहरूले प्रतियोगितामा सहभागी हुनु अघि काठमाडौँमा फेसन कोरियोग्राफर रोजिन शाक्यबाट विशेष ग्रुमिङ र अभिमुखीकरण प्रशिक्षण प्राप्त गरेका थिए, जसले अन्तर्राष्ट्रिय स्तरमा आत्मविश्वासका साथ प्रस्तुत हुन महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ।
नेपालका यी दुई सुन्दरीको सफलता विश्व मञ्चमा नेपालको पर्यटन, संस्कृति र प्रतिभाको गौरवशाली प्रदर्शनका रूपमा लिइएको छ।







































