भीमसेनथापा गाउँपालिका–३ मा अवस्थित श्री संस्कृत माध्यमिक विद्यालयले स्थायी प्रधानाध्यापकको रुपमा भगवान शाक्यलाई नियुक्त गरेको छ। विक्रम सम्वत २००७ सालमा संस्कृत भाषा पाठशालाका रुपमा स्थापना भएको यस विद्यालयको इतिहासमा स्थायी पदका लागि पहिलो पटक खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरिएको हो।
३७ वर्षीय शाक्यलाई मिति २०८२ असार ६ गते शिक्षा नियमावली २०५९ (नवौं संशोधन सहित) को नियम ९३ को उपनियम ५ अनुसार मूल्याङ्कन भई प्रधानाध्यापक छनोट समितिको सिफारिस र विद्यालय व्यवस्थापन समितिको कागजातका आधारमा नियुक्त गरिएको हो। नियुक्ति पत्र भीमसेनथापा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत यानबहादुर नेपालीले प्रदान गरेका हुन्।
भगवान शाक्यले २०७१ साल भदौ १० गते निम्न माध्यमिक तहको गणित शिक्षक र २०७२ साल पुस १७ गते माध्यमिक तहको गणित शिक्षकको रुपमा स्थायी नियुक्ति पाउनुभएको थियो। शाक्यले आफ्नो प्रारम्भिक शिक्षा श्री प्रभात माध्यमिक विद्यालयबाट लिई २०६१ सालमा एस.ई.ई. उत्तीर्ण गर्नुभएको थियो। उहाँले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरबाट गणितमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गर्नुभएको छ।
मेहनती, लगनशील र अनुशासित शिक्षकको छवि बनाएका शाक्यले आफ्नो कार्यकालमा विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूसँग सहकार्य गर्दै विद्यालयको शैक्षिक तथा संस्थागत उन्नयनका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
श्री संस्कृत माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै संस्कृत शिक्षाको संरक्षण र प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आइरहेको छ। नयाँ नेतृत्वसँगै विद्यालयले अझ उच्चतम शैक्षिक प्रगतिमा फड्को मार्ने अपेक्षा गरिएको छ।








































