हालको अत्यधिक गर्मीको प्रभावलाई ध्यानमा राख्दै गोरखाको पालुङटार नगरपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकाले क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा आज र भोलि (दुई दिन) पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्।
पालुङटार नगरप्रमुख विवश चिन्तनले जानकारी दिनुहुँदै भन्नुभयो, “गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सावधानीस्वरूप सबै विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरिएको हो।” पठनपाठन असार १ गतेदेखि नियमित रूपमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ।
त्यसैगरी आँबुखैरेनी गाउँपालिकाले पनि गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने असर न्यूनिकरण गर्न दुई दिनको बिदा दिएको छ। गाउँपालिका अध्यक्ष शुक्र चुमानद्वारा जारी सूचनामा भनिएको छ, “गर्मीका कारण देखिएका समस्या न्यूनीकरण गर्न विद्यालय बन्द गरिएको हो, सबैले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।”
गाउँपालिकाले विद्यार्थीलाई घरभित्र वा शीतल स्थानमा बस्न, प्रशस्त पानी पिउन, दिउँसोको घामबाट जोगिन, ताजा फलफूल र पोषिलो खाना सेवन गर्न, तथा साँझ-बिहान मात्रै व्यायाम वा खेलकुदमा सहभागी हुन सुझाव दिएको छ।








































