पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले भारत र पाकिस्तानको द्वन्द्वले छिमेकी देश नेपाललाई गम्भीर प्रभाव पार्ने बताएका छन्। भारतको जम्मु-कस्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहितको २६ जनामृत्यु भएको घटनालाई लिएर दुई देशबीच द्वन्द्व चलिरहेको समयमा पाकिस्तानी सेनाको नेपाल भ्रमण गराउनु उचित नभएको साउदले बताएका हुन्।
विश्वव्यापी आंतकवादी हमलाबाट नेपाली अछुतो रहन नसकेको उनको भनाई छ। पहलगामको घटनाले दुई हाम्रो छिमेकी भारत र पाकिस्तानबीच गम्भीर तनाव गराएको उनले बताए। कांग्रेस सांसद साउदले भने, ‘विश्वव्यापी आतंकवादीहरूबाट भइरहेका आक्रमणहरूको सिकार हुनबाट नेपालीहरू पनि अछुतो रहन सकेका छैनन्। पहलगाम आतंककारी घटनाले हाम्रो छिमेकी मित्रराष्ट्र भारत र पाकिस्तानबीच गम्भीर तनावको स्थिति उत्पन्न भएको छ।’
नेता साउदले भने ‘छिमेकमा भएको जघन्य आंतककारी घटना र विशेष परिस्थितिमा छिमेकी पाकिस्तानी उच्चस्तरीय प्रतिनिधि मण्डलले भ्रमण गरेको देखियो। भ्रमण पूर्वनिर्धारित नै भएपनि वर्तमान स्थितिका बारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो।’
अहिले पूर्वनिर्धारित तालिकाअनुसार पाकिस्तानी सेनाको एक टोली काठमाडौंमा संयुक्त तालिमका लागि आएको छ।
उनले छिमेकमा युद्धको आगो सल्किरहेको बेला नेपाल सरकारले कूटनीतिक जिम्मेवारी बोध गर्नुपर्ने धारणा राखे। साउदले भने,‘आफ्नै नागरिक आस्थाका आधारमा आतंकको शिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेको बेला नेपाल सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्न सुझाव दिन चाहन्छु।’
भारतले आज पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा हवाइ हमला गरेको छ। बुधबार राति करिब १:३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेशन सिन्दूर’ अन्तर्गत आक्रमण गरिएको भारतले जनाएको छ। पाकिस्तानी सेनाले भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको जनाएको छ।








































