कुनै पनि घटनाको अनुसन्धान गर्न नेपाल प्रहरी अब्बल रहेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताएका छन्।
विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयमा सोमबार आयोजित एकदिने प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी उद्घाटन गर्दै मन्त्री भण्डारीले अन्य देशको तुलनामा नेपाल प्रहरीले अनुसन्धानलाई अब्बल बनाएको बताएका हुन्।
मन्त्री भण्डारीले भने, ‘साधन स्रोतको कमीका बाबजुद पनि प्रहरीको कार्य प्रशंसनीय रहेको छ। प्रहरीसमक्ष साधन स्रोत चाहे जति, अपेक्षा गरेजति छैन, आवश्यक्ता अनुरुपको साधन स्रोत अझै प्राप्त भएको छैन। तर पनि प्रहरीको कामलाई हामीले उच्च मूल्यांकन गर्नुपर्ने हुन्छ।’
अनुसन्धानका क्रममा सञ्चार क्षेत्रले कतिपय समाचारलाई बाहिर ल्याउँदा अनुसन्धानमा नै असर पर्ने उनले बताए।
कार्यक्रममा मोरङ जिल्ला अदालतकी न्यायाधीश सीता शर्मा अधिकारीले मुद्दाको गहिराइमा पुगेर अनुसन्धान गरे त्यसले न्याय सम्पादनमा तटस्थ भूमिका खेल्ने बताइन्।
उनले भनिन्, ‘प्रहरीले अनुसन्धान गरिरहँदा हामीलाई कहिलेकाहीँ न्याय सम्पादन गर्न गाह्रो हुने गरेको छ। हामीले त्यसबेलासम्म सोचेका हुन्नौं कि अनुसन्धान किन त्यहाँसम्म पुगेन भनेर। अनुसन्धान गर्ने अन्य निकाय पनि रहेको छ। तर प्रहरीले निष्पक्षता, गहिराइ, अनुसन्धानमा स्वच्छता र तथ्यपरक राखेको छ जुन अन्यमा देखिँदैन।’
प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले प्रहरीको मुख्य उद्देश्य नै सुरक्षा र अपराध अनुसन्धान भएको बताए। सुरक्षाबिना समाजको गतिविधि हुन नसक्ने बताएका प्रहरी अतिरिक्त महानिरीक्षक कडायतले भने, ‘सुरक्षा बिना विकास हुँदैन। मानिसका विभिन्न कानुन ऐनबाट प्रदत्त मौलिक हकअधिकारको सही ढंगबाट प्रयोग हुन सक्दैन। सुरक्षापछि स्वच्छ पारदर्शी तथ्यपरक भूमिका हुने हुन्छ। अनुसन्धानका क्रममा प्रहरी अब्बल रहेको भए पनि अहिलेको समाजलाई त्यतिले मात्र पुगेको छैन। तीन तहको सरकारलाई समेत अनुसन्धानले मात्र पुगेको देखिँदैन। त्यसैले समाजले अपेक्षा गरेको कामकारबाहीका लागि परिपूर्ति गर्न तयार रहनुपर्छ।’
एकदिवसीय गोष्ठीका क्रममा कोशी प्रदेशका १४ जिल्लाका प्रहरी प्रमुख, कार्यालयका मुद्दा फाँटका कर्मचारीहरुको सहभागिता रहेको छ।








































