त्रिकोणात्मक महिला टी–२० आई सिरिजअन्तर्गत आफ्नो पाँचौं खेलमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ४६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रन बनायो ।
नेपालका लागि अलराउन्डर पूजा महतोले अर्धशतकीय पारी खेलिन् । उनले ५१ बलमा पाँच चौकाको सहयोगमा अविजित ६२ रनको पारी खेलेकी हुन् । टी–२० आईमा पूजाको यो दोस्रो अर्धशतकीय इनिङ हो ।
साथै, उनी जारी सिरिजमा अर्धशतक हिर्काउने पहिलो नेपाली ब्याटर बनेकी छन् । यस्तै, पूजा नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली महिला ब्याटर बनेकी छन् ।
त्यस्तै, नेदरल्याण्ड्विरुद्ध कप्तान इन्दु बर्माले ३७ बलमा पाँच चौकासहित ३९ रन बनाइन् । यस्तै, रुबिना क्षेत्रीले २० तथा कविता जोशीले अविजित ७ रन जोडिन् ।
नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङले चार ओभरमा २५ रन दिएर सर्वाधिक दुई विकेट लिइन् । जारी सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ । नेपालले चार म्याच खेल्दासम्म लगातार हार बेहोरेको छ । लगातार चौथो हार बेहोरेपछि घरेलु मैदानमा सिरिज जित्ने नेपालको सपना अधुरै रहेको छ ।
नेपाल अब बाँकी दुई खेलमा राम्रो क्रिकेट खेलेर सिरिजको अन्त्य गर्ने सोचमा छ । नेपाली महिला टिमले पहिलोपटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको हो ।
तुलनात्मकरूपमा आफूभन्दा बलियो टिमविरुद्ध खेलिरहेकाले पनि नेपालले अपेक्षाकृत नतिजा हात पार्न सकिरहेको छैन । नेदरल्याण्ड्सले चार म्याचमा दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ ।









































