- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखा नगरपालिकाको बेरुजू : वेलायत भ्रमणमा गरेको खर्च नगरपालिकालाई फिर्ता गर्नुपर्ने

June 11, 2024
76
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा नगरपालिकाको आर्थिक बर्ष २०७९।०८० मा तीनकरोड ५९ लाख १५ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार गोरखा नगरपालिकाले दुई करोड २६ लाख ११ को प्रतिक्रिया पठाएको छ । जसमा ४९ लाख ९६ हजार रुपैयाँ असुल उपर गर्नुपर्ने अन्तर्गत छ भने एक करोड २८ लाखको कागजात पेश गर्नुपर्ने भनी उल्लेख छ । 

त्यस्तै एक करोड ३९ लाख रुपैयाँ नियमित हुनुपर्ने भनी सुझाव दिएको छ । गोरखा नगरपालिकाको नाममा गतबर्षसम्म १६ करोड ६ लाख २७ हजार रुपैयाँ बेरुजु रहेकामा त्यसमा थप भई अब कूल बेरुजु १९ करोड ४२ लाख ८१ हजार रुपैयाँ पुगेको छ । यस नगरपालिकाका पदाधिकारीहरुले विदेश भ्रमण गरेबापत ११ लाख रुपैयाँ बेरुजु देखिएको छ । साना टुक्रे योजना बाँडफाँड गर्दा बजेटको सही सदुपयोग नहुने हुँदा टुक्रे योजनामा बजेट विनियोजन गर्न नहुने उल्लेख भएकामा ५८३ वटा टुक्रे योजनामा बजेट बाँडफाँड गरिएको महालेखाले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

जसमा एकलाख भन्दा कम बजेटका योजना नै २११ वटा रहेका छन् । स्थानीय सरकार संचालन ऐन बमोजिम स्थानीय तहले कानून बनाएर मात्र भत्ताको व्यवस्था गर्नुपर्नेमा गोरखा नगरपालिकाले कानून नबनाई कर्मचारीलाई पटके निर्णयका आधारमा सञ्चार महसुलसमेत रु १० लाख ३० हजार भुक्तानी दिएको देखिएको छ ।

गोरखा नगरपालिकाले वडा नं. ६ स्थित ठूलोआँगनमा नेपाली सेनाको व्यवस्थापनमा पृथ्वीनारायण शाहको सालिक अनावरण, झण्डोत्तलन तथा विनय विगुल सुरु गर्ने कार्यक्रमको लागि सालिक निर्माणमा रु.नौलाख ९५ हजार र अन्य कार्यमा रु. ३२ लाख ९१ हजार खर्च गरेको छ । जसमध्ये रु.२६ लाख १२ हजार भुक्तानी दिन बाँकी राखेको छ । 

- ADVERTISEMENT -

Advertisement

शालिक निर्माणको लागि लागत अनुमान, स्पेशिफिकेसन, नापी किताब तथा कार्य स्वीकार प्रतिवेदन वेगर नै भुक्तानी गरेको, अन्य खर्च वापत साउण्ड सिस्टम, मायाको चिनो, होटलबास खर्च, मनोग्राम निर्माण, झाँकी, झण्डा, चियापानमा बजेट खर्च भएको बिल भर्पाई पेश गरेको छ । नगरपालिकाले पृथ्वीनारायण शाहको शालिक निर्माणमा रु. १० लाख बजेट विनियोजन गरेता पनि अन्य असम्बन्धित कार्यमा रु. ३२ लाख ९१ हजार रुपैया अनियमित खर्च गरेको देखिएको महालेखाले औंल्याएको छ ।

एउटा योजनाका लागि स्वीकृत बजेट अर्को शीर्षकमा खर्च गरेकोमा पनि महालेखाले अनियमित ठहर गरेको छ । सहिद स्मृति सभाहल पुनर्निर्माण शीर्षकको १० लाख बजेट दुईकोठे भवन निर्माणमा खर्च गरेको, मझुवा प्रहरी चौकीको छाना मर्मत शीर्षकको एक लाख ९४ हजार बजेटले छाना मर्मत नगरी नयाँ भवन निर्माणमा खर्च गरेको विषय पनि महालेखाले अनियमित ठहर गरेको छ ।

करारमा कार्यरत कर्मचारीलाई स्थानीय भत्ता दिन नमिल्ने भए पनि नगरपालिकाले उद्यम विकास सहजकर्ता र सहयोगीलाई दिएको २० हजार रुपैयाँ भत्ता बेरुजु देखाएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयलाई दुई वटा डेस्कटप कम्प्यूटर खरिद गर्न दिएको एकला ५९ हजार रुपैयाँ पनि अनियमित भनी उल्लेख गरेको छ ।

लागु औषध दुव्र्यशनीविरुद्ध सचेतना अभियान शीर्षकमा बिनियोजित पाँचलाख रुपैयाँ हिमालय युवा समाजलाई प्रदान गरेकामा सो अभियान सञ्चालन नगरी स्टेशनरी सामान, पोशाक आदिमा खर्च गरेको हुँदा सो तीनलाख ७५ हजारलाई अनियमित ठहर गर्दै बेरुजु देखाएको छ । गोरखा नगरपालिकाले १० जना उद्यमीलाई व्याजसहित फिर्ता गर्ने गरी कर्जा लगानी गरेकामा अमर फर्निचर उद्योग र नितु टेलर्सले फिर्ता नगरेकाले सोबापतको एकलाख ६६ हजार रकम असुल उपर गर्नुपर्ने जनाएको छ ।

गोरखा नगरपालिकाका पदाधिकारीहरुले वेलायतको रस्मुर बरो काउन्सिलसंग भगिनी सम्बन्ध थप प्रभावकारी बनाउन २०७९ मा बेलायत भ्रमण गरेको थियो । भ्रमणमा नगर प्रमुख कृष्ण वहादुर राना, नगर उपप्रमुख मसली माया थोकर र वडाअध्यक्ष रामबहादुर खड्का, वडा अध्यक्ष डिल बहादुर थापा र वडा अध्यक्ष प्रदीप कुँवर गरी पाँच जना सहभागी थिए । नगरपालिकालाई कुनै आर्थिक भार नपार्ने गरी भ्रमण स्वीकृत भएकोमा नगरपालिकाको ११ लाख रुपैँया खर्च भएको देखिएको छ । खर्च भएको रकममध्य प्रतिव्यक्ति दुई लाख बीस हजार ३१८ रुपैँया असुल गर्न बाँकी छ ।

नगरपालिकाले यसवर्ष अनुगमन मुल्यांकन तथा भ्रमण खर्च शिर्षकमा रु २० लाख १४ हजार खर्च लेखेको छ । तर, भ्रमणको उद्देश्य, अनुगमन तथा भ्रमण प्रतिवेदन, भ्रमण अभिलेख, दुरीको विवरण, सवारी साधनको टिकट आदि भने उल्लेख छैन । महिला स्वास्थ्य स्वंयमसेविकाको अवलोकन भ्रमणमा दुईलाख र गाडी भाडामा ८० हजार खर्च गरिएको छ । कर्मचारी जनप्रतिनिधि अवलोकन भ्रमण भनेर दुई लाख ९६ हजार गाडी भाडामा थप ५० हजार खर्च गरिएको छ । 

वडा नं ९ अवलोकन भ्रमणमा दुई लाख, वडा नं २ को वडा समिती टोल विकास सस्था अवलोकन भ्रमणमा दुई लाख र गाडी भाडामा ९० हजार खर्च गरिएको छ । त्यस्तै वडा नं ५ अवलोकन भ्रमणमा दुईलाख, वडा नं १२ अवलोकन भ्रमणमा दुईलाख ४५ हजार, ज्येष्ठ नागरिक तिर्थ यात्रा भ्रमणको क्रममा पनि नगद एक लाख र वडा नं १० शैक्षिक अवलोकन भ्रमणमा डेढ लाख नगद र ३५ हजार गाडी भाडा देखाएको छ । सबैगरी १० वटा शिर्षकमा गरिएको अवलोकन भ्रमणमा १६ लाख ७५ हजार ८० रुपैँया नगद तथा तीन लाख ९२ हजार गाडी भाडा देखाएको छ । भ्रमणको उद्देश्य तथा उद्देश्य प्राप्तीको मुल्यांकन नगरी खर्च गर्नु उचित नदेखिएको महालेखाले जनाएको छ ।

गोनपाको १९ योजनामा शुन्य प्रगति
गोरखा नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को योजनाहरुमध्य १९ योजनाहरुमा शुन्य प्रगति देखिएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनमा गोनपाको १९ योजनाहरुमा शुन्य प्रगति देखिएको हो । ती योजनाहरुका लागि संघबाट ३ करोड ९४ लाख १२ हजार रुपैँया रकम बिनियोजन भएको थियो ।

प्रतिवेदन अनुसार गोरखा नगरपालिकाको अस्लामी गाउँ खानेपानी आयोजनामा बिनियोजित १० लाख, लखन थापाको शालिक निर्माणमा विनियोजित १० लाखको कामको प्रगति पनि शुन्य छ । कुवापानी कवर्ड हल निर्माण, प्रतिक्षालयदेखि खोलखोलेसम्म फुटपाथ निर्माण र गुणस्तर परिक्षण मेसिन खरिदको योजनाहरुमा पनि शुन्य प्रगति छ । उक्त योजनाहरुका लागि १०÷१० लाख रकम बिनियोजन भएका थिए ।

पस्लाङ पहिरो हुँदै देउराली डाँडा सडक, देबीस्थान मन्दिर पुननिर्माण तथा संरक्षण र वडा नं ११ मा फुटपाथ निर्माणका काममा पनि शुन्य विवरण देखिएको छ । यी योजनाहरुका लागी १५ लाख रकम बिनियोजन भएका थिए । गोरखा गेट निर्माणका लागि बिनियोजित १६ लाख र भीमसेनथापा पार्क क्षेत्रमामा फन पार्क र पिक्निक स्पोर्ट निर्माणका लागि बिनियोजित १९ लाखको कामको प्रगति पनि शुन्य छ । 

नमुना पुर्वाधार तथा रोजगार प्रवद्र्धन कार्यक्रम, रानी पोखरीको पानी निकाली रङगीन फाउन्टेन निर्माण गर्ने र आरुस्वाँरा मेलबिसौँनी धनुबासे माथिल्लो रोकागाउँ भगवतीथान एक घर एक धारा कार्यक्रमका लागि बिनियोजित २०÷२० लाख रकमको योजनाहरुको प्रगति पनि शुन्य छ । गोरखा नगरपालिकाको नमुना पुर्वाधार तथा रोजगार प्रवर्दन कार्यक्रम र सडक बोर्ड र नपा साझेदारीका लागि बिनियोजित ८० लाख रकमको योजनाहरुमा पनि शुन्य प्रगति देखिएको हो ।

यस्तै, गोनपा वडा नं ५, ६ र ७ मा कालोपत्रे सडक मर्मत कार्यका लागि प्राप्त ९ लाख र आहाले सामुदायिक भवन निर्माण कार्यका लागि बिनियोजित ९ लाख ७७ हजारको योजनामा पनि शुन्य प्रगति भेटिएको महालेखाको प्रतिवेदमा उल्लेख छ । गोनपाले पुरा गर्न सक्ने योजनाहरुमा छनोट गर्न महालेखाले सुझाएको छ ।
इन्धन खर्चमा अनियमितता
गोरखा नगरपालिकाको मेयर तथा उपमेयरले इन्धन शीर्षकमा अकूत खर्च गरेको महालेखाले जनाएको छ । गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यहरुले पाउने सुविधा ऐन २०७६ को दफा ३ मा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधामा नगर प्रमुख र उपप्रमुखले मासिक ९० लिटर इन्धन प्रयोग गर्न पाउने सीमा निर्दिष्ट छ । तर नगरप्रमुख कृष्ण राना चढ्ने बा १ झ २९० नम्वरको गाडीमा मात्रै ३ हजार १९ लिटर (चार लाख ७२ हजारभन्दा बढीको) इन्धन प्रयोग बढी प्रयोग भएको ठहर गरेको छ । 

त्यस्तै उपप्रमुख मसली माया थोकर चढ्ने बा २ झ १६९८ नम्वरको गाडीमा २ हजार ६०६ लिटर (चार लाख बढी मूल्य बराबरका) इन्धन बढि प्रयोग भएको महालेखाको ठहर छ । दुवैको गरी गोरखा नगरपालिकाले पाँचहजार ६२५ लिटर इन्धन निर्धारित भन्दा धेरै प्रयोग भएको उल्लेख गरेको छ । यसबापत नगरपालिकालाई आठलाख ७५ हजार रुपैयाँ भार थपिएको उल्लेख छ । मापदण्डको पालना नगरी बढि इन्धन खपत गरी अनियमित खर्च गर्नु मनासिब नहुने महालेखाको ठहर छ ।

आव २०७९/८० मा गोनपाले ५० प्रतिशत अनुदानमा ५०० थान विद्युतीय चुल्हो खरिद गरेको थियो । तर कार्यालय प्रमुखबाट लागत अनुमान स्वीकृत नगराई सिमित प्रतिष्पर्धा हुने गरी उपभोक्ता समितीबाट खरिद गरी भुक्तानी गरेको रकम नियम सम्मत नदेखिएको भन्दै महालेखाले उक्त रकमलाई अनियमित बताएको छ ।

यसरी विद्युतिय चुल्हो खरिदमा नगरपालिकाको ९ लाख ९७ हजार रकम अनियमित खर्च देखिएको महालेखाको विवरणमा उल्लेख छ । त्यस्तै क्लिन गोरखाले ग्राहकसंग असुल गरेको रकमको २० प्रतिशत गोरखा नगरपालिकालाई तिर्नुपर्ने सम्झौता भए पनि नतिरेकाले सो रकम असुल उपर गर्न महालेखाले निर्देशन गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com