पछिल्लो केही दिनदेखि बढेको अत्यधिक गर्मीले यहाँको जनजीवन कष्टकर बनेको छ । गर्मीसँगै तातो हावा (लु) चलेपछि जनजीवन कष्टकर बनेको हो ।
बिहीबार सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढी (कैलाली)मा हालसम्मकै उच्च तापमान मापन गरिएको छ ।
महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाले पौने ३ बजे गरेको मापन अनुसार अधिकतम तापक्रम ४४ं.१ डिग्री सेल्सियस र न्यूनतम ३०.२ डिग्री सेल्सियस रहेको छ ।
यो तापमान अहिलेसम्मकै उच्च तापक्रम भएको कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले जानकारी दिए । चौधरीले सन् १९९६ पछि पहिलोपटक सबैभन्दा धेरै तापक्रम रेकर्ड भएको पनि बताए । तापक्रम अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
गर्मीले ज्यान गयो
कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु भएको छ । बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका जिल्लाको कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुवासहित सवार थिए ।
उच्च गर्मीकै बीच बसमै एकछिन आराम गर्छु भनी सुतेका उनी हसुलिया बसपार्क पुगेपछि मृत भेटिएको चन्दले बताए । मसुरिया र हसुलियाको दुरी १७ किलोमिटर मात्रै छ । उनको गर्मीपछि हृदयघातका कारण नै मृत्यु भएको प्रहरीको भनाइ छ ।








































