नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपमा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
१५ खेलाडी र १० अफिसियल गरी २५ सदस्यीय टोलीले विश्वकपमा औपचारिक रूपमा सहभागिता जनाउँदै छ। अध्यक्ष चन्द बुधबार श्रीमतीसहित अमेरिकाका लागि उडेका हुन् । क्यानले विश्वकपका लागि मिडियाबाट कुनै प्रतिनिधिलाई समावेश नगराई १० सदस्यीय अफिसियल टोली बनाएको छ ।
क्यानले आईसीसीलाई बुझाएको १० अफिसियल टोलीमा अध्यक्ष चन्दसँगै मुख्य प्रशिक्षक मोन्टी देसाई, सहायक प्रशिक्षक वसन्त शाही ठकुरी, क्रिकेट कन्सल्टेन्ट नन्दन फाद्निस, बलिङ कन्सल्टेन्ट रड इस्टविक, एनालिस्ट रमण शिवाकोटी, फिजियो विक्रम न्यौपाने, फिटनेस ट्रेनर अब्दुल सतार, व्यवस्थापकमा प्रदीप मजगैयाँ र टिम लिडर दिवाकर घले रहेका छन् ।









































