एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २८५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा आयरल्याण्ड ‘ए’ ले पुरै ओभर खेलेर ९ विकेटको क्षतिमा २८४ रन बनाएको हो।
आयरल्याण्ड ‘ए’ का लागि स्टिफन डोहेनीले १०७ रन बनाए। उनले १२९ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै १०७ रनको योगदान गरे। पिटर मूरले भने ४४ रनको योगदान गरे ।
नेपाल ‘ए’ का लागि भने रिजन ढकाल र रञ्जित कुमारले ३–३ विकेट लिए। विकास आग्री र साहब आलमलले भने १–१ विकेट लिए।
३ खेलको सिरिजमा भ्रमणकारी टोली २-० ले अघि छ । आजको खेलमा समेत जित निकाले आयरल्याण्डले सिरिज क्लिनस्वीप गर्नेछ ।









































