नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रत्येक निर्वाचन क्षेत्रमा सांसदको सिफारिसमा कम्तीमा ५० करोड रुपैयाँको योजना दिन माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य घिमिरेले देशभरका १६५ निर्वाचन क्षेत्रमा सांसदको सिफारिसमा कम्तीमा ५० करोड रुपैयाँको योजना दिन माग गरेका हुन् । उनले सांसदलाई ५/१० करोड रुपैयाँ मात्रै नचाहिएको बताए ।
‘यस वर्ष बजेट निर्माणमा सांसदहरूको भूमिका र सहभागिता भएन भने हामी यो बजेट पास गर्नको लागि सहयोगी किमार्थ पनि बन्न सक्दैनौँ । बजेट पास गर्ने कुरामा विपक्षीको पनि के भूमिका हुन्छ भन्ने कुराको नजिर संसदमा स्थापित भइसकेको कुरा स्मरण गराउन चाहन्छु । स्वयम् प्रधानमन्त्रीज्यूको पार्टीले हामीलाई यो कुरा सिकाइसकेको पनि छ,’ घिमिरेले भने, ‘हामीलाई ५/१० करोड चाहिएको होइन । १६५ वटा निर्वाचन क्षेत्रमा सांसदको सिफारिसमा कम्तीमा ५० करोडको योजना दिइयोस्, कार्यान्वयन सरकारले गर्ने हो । यदि बजेट निर्माणमा सांसदहरूको भूमिका शून्य बनाइयो भने बजेट पास हुँदैन ।’
उनले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भूमिका नभएमा बजेट पास गर्न नदिने बताए ।








































