काठमाडौं –साफ यू–१६ महिला च्याम्पियनसिप फुटबलमा भारतले नेपालमाथि १०–० को फराकिलो जित हासिल गर्दै फाइनलमा स्थान बनाएको छ। बिहीबार फाइनलमा पुग्न जित्नै पर्ने दबाबमा रहेको नेपालमाथि भारतले एकपछिय आक्रमण गर्दै बंगलादेशसँगको फाइनल भेट पक्का गर्याे।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालले पहिलो हाफमा ६ गोल खान पुग्दा दोस्रो हाफमा थप ४ गोल खान पुगेको थियो। यो हारसँगै नेपाल प्रतियोगिताको लिगचरणबाटै बाहिरिएको छ।
नेपाल पराजित भएसँगै प्रतियोगिताको फाइनलमा भारत र बंगलादेश खेल्ने पक्का भएको हो। लिग चरणको अन्तिम खेल शुक्रबार भुटान र बंगलादेशबीच हुने छ।
नेपालले लिगचरणको पहिलो खेलमा बंगलादेशसँग २–० को हार बेहोर्दा दोस्रो खेलमा भुटानलाई ३–० ले पराजित गरेको थियो। भारतले पहिलो खेलमा भुटानलाई ७–० ले पराजित गर्दा दोस्रो खेलमा बंगलादेशसँग ३–१ को हार बेहोरेको थियो।








































