नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
आफूसमेत सहभागी भएको सरकारको विकल्पमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण बनाएपछि कांग्रेसले अहिले बसिरहेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
‘प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो । कुनै मन्त्रीलाई हटाउनुभएको छैन । किनकि सबै मन्त्री अहिलेसम्म कामय छन्,’ लेखकले लोकान्तरसँग भने, ‘तर पनि हामीले कार्यसम्पादन समितिको बैठकबाट सरकारबाट फिर्ता हुने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छौं । कार्यसम्पादन समितिको बैठकले यही निर्णय गर्दै प्रतिपक्षमा बस्ने निर्णय गर्नेछ ।’
प्रधानमन्त्रीले एकलौटी रुपमा गठबन्धन तोडेको भन्दै कांग्रेसले सरकारमा आफ्नोतर्फका मन्त्रीलाई फिर्ता बोलाउन नपर्ने निर्णय गरेको थियो ।
सभापति शेरबहादुर देउवाले मंगलवार दिउँसो ३ बजेपछि आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । बैठक जारी छ ।
कांग्रेससहितका गठबन्धन ११ महिनादेखि चले पनि सोमवार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री प्रचण्ड नै दोहोरिने गरी नयाँ समीकरण बनाएका थिए । यसैले कांग्रेस स्वतः सरकारबाट बाहिरिएको हो ।








































