काठमाडौं- घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ। नेपालका लागि ओपनर कुशल भुर्तेल १० बलमा २० रन बनाएर आउट भए।
३.३ ओभरमा टिमले २३ रन बनाउँदा उनी स्विप सट खेल्ने चक्करमा आउट हुन पुगेका थिए। उनले १ चौका र २ छक्का प्रहार गरे। अहिले क्रिजमा आसिफ शेख ४ रन तथा कप्तान रोहित पौडेल १ रनमा अविजित छन्।
टियू मैदान, कीर्तिपुरमा नेपालका कप्तान रोहित पौडेलले टस जितेसँगै नेपाल पहिले ब्याटिङ गरिरहेको छ। नेपालले यसअघिको नेदरल्यान्ड्स विरुद्धको खेलमा रहेको टोलीमा कुनै परिवर्तन गरेको छैन।
नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि हत्याउने लक्ष्यमा रहँदा डच टोली भने नेपालको मैदानमा पहिलो उपाधिको लक्ष्यमा रहेको छ।
नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनले हराउँदै उपाधि जितेको थियो। २०२२ को त्रिकोणात्मक टी-२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो।








































