फागुन २१ गते । पोखरा महानगरपालिका वडा नम्बर ९ मा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारीको करिब सात करोड ठगी गरेको अभियोगमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले आइतबार साँझ विन्दवासिनी सहकारीको छानबिन प्रतिवेदन बुझाएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । ठगीमा सम्बद्ध थप व्यक्तिहरुविरुद्ध सोमबार पक्राउ पुर्जी जारी हुने र कारवाही अघि बढ्ने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो ।
सहकारीका सचिव गङ्गाधर सुवेदी भने १५ दिनअघिबाटै सम्पर्क निगरानीमा रहे पनि फरार भएको उहाँले जानकारी दिनुभयो ।
विन्ध्यावासिनी सहकारीको सात करोडभन्दा बढी रकम हिनामिना भएको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले प्रतिवेदनले औंल्याएको छ । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल हुनुहुन्छ । पौड्याल पोखरा–८ मा रहेको लेक सिटी हस्पिटल एण्ड क्रिटिकल कियर प्रालिका अध्यक्ष हुनुहुन्छ ।
सहकारीको रकम हिनामिना भएपछि छानबिन माग गर्दै बचतकर्ताहरुले सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । सहकारी रजिष्ट्रारको कार्यालयले छानबिन गर्दा झण्डै सात करोड रुपियाँ हिनामिना गरेको पुष्टि भएको छ ।
अध्यक्ष नकर्मी र सचिव सुवेदीले मिलेर कार्यसमितिका अरुको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनले औँल्याएको छ । पोखरा २९ मा सहकारीको नाममा रहेको तीन रोपनी जग्गा किर्ते गरी बेचेर रकम हिनामिना गरेको उनीहरुमाथि अभियोग छ ।
सो जग्गा तीन करोड ५९ लाख ९० हजारमा बिक्री भएको बताइन्छ । किर्ते गरी बेचिएको जग्गा आठ दिन भित्रमा फिर्ता गर्ने भनी अध्यक्ष नकर्मी र सचिव सुवेदीले गएको पुस २६ गते कागज गरे पनि जग्गा फिर्ता नभएपछि बचतकर्ताहरुले उजुरी दिनुभएको थियो ।








































