काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं आएका मिटरब्याज पीडितको माग सम्बोधनका लागि तत्काल वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै रास्वपा संसदीय दलका नेता रवि लामिछानेले कञ्चनपुर र झापाबाट २३ दिन लगाएर माग सम्बोधनका लागि पीडितहरु काठमाडौं आएकाले उनीहरुको माग सम्बोधनका लागि सरकारले तत्काल कदम चाल्न आवश्यक रहेको बताए । मिटरब्याजीलाई वार्ताको ढोका बन्द नगर्न सरकारलाई उनको आग्रह थियो ।
चितवनका साथै देशैभरीका दूध र मह किसान मारमा परेको स्मरण गराउँदै सभापति लामिछानेले किसानहरू दूध पोखेर विरोधमा उत्रनु लज्जास्पद भएको बताए ।
आफ्ना किसानको माग सम्बोधन नगर्नु तर विदेशबाट ठूलो परिमाणमा मह र पाउडर दूध आयत हुनु दुखद् भएको बताउँदै लामिछानेले किसानलाई नजर अन्दाज गर्यो भने किसानको आन्दोलनले सरकार ढाल्नेसम्मको क्षमता राख्ने चेतावनी दिए ।








































