काठमाडौं : प्रमुख प्रतिपक्ष दलले संसद बैठक अवरोध गरेका छन्। अख्तियारमा बयान दिएका मन्त्री र बालकुमारी घटनामा संलग्न मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त नगरेको भन्दै एमाले, रास्वपा र राप्रपाका सांसदले संसद बैठक अवरोध गरेका हुन्।
नेकपा एमालेका सांसद रघुजी पन्तले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेका थिए। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले भ्रष्टाचार मुद्दामा अख्तियारमा बयान दिइसक्दा पनि पदबाट राजीनामा नभएको भन्दै प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरेका हुन्
विपक्षी दलहरुले ललितपुरको बालकुमारीमा दुईजनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले भौतिक मन्त्री प्रकाश ज्वालाकै कमजोरीका कारण घटना घटेको निष्कर्ष निकाल्दा पनि कारवाही नगरेको भन्दै कारवाही गर्न माग गरेको हो। सांसदहरुले विवादमा परेका स्वास्थ्य मन्त्री, गृहमन्त्री र भौतिक पूर्वाधार मन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए।
सांसदले उठेर विरोध गरेपछि बैठकमा सभामुख देवराज घिमिरेले सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएपछि बैठक सञ्चालन भएको छ।








































