कांग्रेस महासमिति बैठक आज दिउँसो १ बजे गोदावरीमा सुरु हुँदै छ । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महासमिति बैठकमा छलफलका लागि पेस गर्न तयार पारेको प्रस्तावका कतिपय कुरामा सभापति शेरबहादुर देउवाले असहमति जनाएपछि पार्टी पदाधिकारी बैठक बसिरहेको छ ।
देउवा निवास बूढानीलकण्ठमा जारी बैठकमा प्रतिवदेनको केही बुँदामा छलफल भइरहेको एक नेताले जानकारी दिए । त्यसअघि महामन्त्रीहरूसँग देउवाले एक्ला-एक्लै छलफल गरेका थिए । त्यसक्रममा सहमति हुन नसकेपछि अहिले पदाधिकारी बैठक बसिरहेको हो ।
महामन्त्री थापाले सांगठनिक र अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रस्ताव तयार पारेको प्रतिवेदन केन्द्रीय समितिले शंसोधनसहित पारित गरेको थियो । देउवाले महामन्त्रीद्वयले तयार पारेका प्रतिवेदनमा गठबन्धनका कुरा र कोशी प्रदेशमा मुख्यमन्त्री चयनका बेलाका घटनाक्रम समेटिएकोमा असन्तुष्टि जनाएका छन् । उनले उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको नीति प्रस्तावबारे भने असन्तुष्टि जनाएका छैनन् ।
महामन्त्री थापाको प्रस्तावमा अबदेखि चुनावअघि गठबन्धन नगर्ने, कांग्रेसी मतदातालाई रूखबाहेक अरू चुनाव चिह्नमा मत हाल्न नदिने अवस्था सिर्जना गर्ने कुरा समेटेका छन् । त्यस्तै अर्का महामन्त्री शर्माले कोशीको मुख्यमन्त्री चयनको घटनाक्रम र राष्ट्रियसभामा माओवादीले एक सिटमा हार ब्यहोरेको घटनाले माओवादीसँग सम्बन्ध चिसिन सक्ने र समाधान गर्न सकिएन भने गठबन्धन संकटमा पर्न सक्ने औँल्याएका थिए ।
सभापति देउवाले यी विषयमा अहिले पार्टीले प्रतिक्रिया दिन आवश्यक ठानेका छैनन् । गठबबन्धन नगर्ने भनेर महासमिति जस्तो पार्टीको फोरममा छलफल गर्दा अहिले नै गठबन्धन टुट्न सक्ने र प्रतिरक्षारत प्रधानमन्त्री भएकाले ‘प्रधानमन्त्री मिसन’मा असर पर्न सक्ने भन्दै देउवा सचेत छन् । महामन्त्रीद्वयले प्रस्तावका कुरा कांग्रेसका कार्यकर्ताका चाहना र ग्राउण्ड रियालिटी भएकोले महासमितिमा अनिवार्य रूपमा छलफल गर्नुपर्ने पक्षमा छन् ।








































