काठमाडौं– नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको आयोजनमा भोलि फागुुन ५ गते शनिवार गुह्येश्वरी–धाप ड्याम यात्रा आयोजना हुने भएको छ ।
एमोल अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष सहभागितामा यो यात्रा शनिवार बिहान ९ बजे गुह्येश्वरीबाट प्रारम्भ हुनेछ ।
एमालेको काठमाडौं जिल्ला कमिटीको आयोजनामा शुक्रवार बिहान काठमाडौंमा आयोजित पत्रकार सम्मेलनम एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा ‘गुह्येश्वरी धाप ड्याम यात्रा’ गर्न लागेको नेकपा एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा उक्त यात्राको बारेमा जानकारी दिँदै अध्यक्ष निरौलाले भने– ‘भोलि बिहान १० बजे पार्टी अध्यक्षको नेतृत्वमा धाप ड्यामतर्फ जानेछौँ, बागमती करिडोरबाट सुन्दरीजल हुँदै ड्याम जानेछौँ र त्यहँबाट फर्किएर आलापोटमा आएर सभामा परिणत हुनेछौँ । त्यहाँ पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्नु हुनेछ ।’

अध्यक्ष निरौलाले धाप ड्याम जस्ता निर्माणका कामहरु सम्पन्न गर्न सरकारलाई सुझाव दिने र जन दवाव सिर्जना गर्ने उद्देश्यका साथ यो यात्रा गर्न लागेको भन्दै यसले आन्तरिक पर्यटनमा वृद्धि भएर अर्थतन्त्र सुधारमा पनि सहयोग पुग्ने बताए ।
उपत्यकामा पानीका स्रोतहरुको व्यवस्थापन गर्ने र नदीहरुलाई सफा बनाउनको लागि यस्ता ड्यामहरु उपत्यकाका क्षेत्रमा निर्माणको काम अगाडि बढाउन जरुरी भएको पनि निरौलाको भनाई छ ।
यस प्रकारका आयोजनाहरु उपत्यकाका स्थानिय पालिका, संघीय र प्रदेश सरकारले सञ्चालन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउने एमालेको उद्देश्य छ ।








































