काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले मंगलबार पहिलो वार्षिकोत्सव मनाउँदै छ।

काठमाडौंस्थित भृकुटीमण्डपमा आज बिहान साढे ११ बजे पहिलाे वार्षिकाेत्सवकाे आयाेजना हुनेछ। वार्षिकाेत्सवबाटै प्रसाईंले अर्काे चरणकाे आन्दाेलन सुरु गर्न लागेका हुन्।

संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागू गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने मागसहित उनले अर्को चरणको आन्दोलन गर्न लागेका हुन्।

प्रसाईंले काठमाडौंको टुँडिखेलमा कार्यक्रम गर्ने तयारी गरे पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनका लागि टुँडिखेल उपलब्ध गराउन नसकिने बताएका थिए।

श्रेष्ठले अर्को चरणको आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई सोमबार टेलिफोन गरेर सरकारविरुद्धको आन्दोलनको लागि राजधानीको टुँडिखेलमा स्थान दिन नसक्ने बताएका हुन्।

यसअघि प्रसाईं नेतृत्वले गत मङ्सिर ७ गते काठमाडौंको बल्खुमा कार्यक्रम गरेकाे थियाे।

प्रसाईंका यसअघिका आन्दोलनमा पनि सरकारले बाक्लो संख्यामा सुरक्षाकर्मी खटाएको थियो भने झडपको स्थितिसमेत आएको थियो।

२० लाख रुपैयाँभन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना गरी १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने, सरकारको मातहतमा रहेका संघसंस्थाहरुको पुँजी बैंकमा राख्दा शून्य प्रतिशत ब्याजमा राखिनुपर्ने, निजामती कर्मचारीको तलब सुविधा १ लाख ५० हजार हुने ग्यारेन्टी गर्नुपर्ने, सर्वोच्चमा १०० जना न्यायाधीश थप गरेर सबै मुद्दाको छिनोफानो २ वर्षभित्र गर्नुपर्नेलगायतका माग पनि प्रसाईंको आन्दोलनले गर्दै आएको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्