वैदेशिक रोजगारमा जान चाहनेहरु आफन्तबाटै ठगिने गरेको पाइएको छ । विदेश पठाई दिने भन्दै आफन्तले नै ठगी गर्ने गरेको उनीहरुले गुनासो गरेका छन् ।

खोटाङमा ठगिएका ४६ मध्ये १९ जना चिनेजानेका तथा आफन्तबाट पीडित भएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) खोटाङका संयोजक सन्तोष राईले बताए ।
उनकाअनुसार २०७७ देखि २०८० पुससम्म ४६ जना ठगिएका छन् । यसमध्ये चिनेजानेकाबाट १९ जना, जिल्ला बाहिरका एजेन्टबाट २० जना र मेनपावरबाट ७ जना ठगिएका हुन् ।
चालु आर्थिक वर्ष मात्र १६ जना ठगिएका छन् । खोटाङका विदेश जान चाहनेबाट एजेन्ट र मेनपावरले एक करोड पाँच लाख १३ हजार ठगी गरेको पाइएको छ । उनीहरु अधिकांशले आफूहरु ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी समेत दिएका छन् । तर उजुरीकर्ताको नाम खुलाइएको छैन ।
‘उजुरीहरु आएका छन्, हामी अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले भने, ‘तर अनुसन्धानको क्रममा भएकाले नाम खुलाइएको छैन ।’
मेनपावरबाट ठगिएकाहरुको सन्दर्भमा भने वैदेशिक रोजगार विभागले अनुसन्धान गरिरहेको कार्कीले बताए । अन्य व्यक्ति विशेषको मुद्दा चाँहि प्रहरीले अनुसन्धान गरिरहेको कार्कीको भनाइ छ । अनुसन्धानपछि को व्यक्ति कसरी ठगिए भन्ने खुल्नका साथै यसमा संलग्नलाई कारबाहीको प्रक्रिया बढाइने कार्कीले बताए ।
पीडितहरुले स्थानीय सरकार, जिल्ला प्रशासन, प्रहरी, सामी लगायतका निकायमा रकम फिर्ताका लागि गुहार मागेका छन्








































