अर्बपति व्यापारी विनोद चौधरीका कान्छा भाई अरूण चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । सीआईबी सम्बद्ध स्रोतका अनुसार प्रहरी टोलीले अरूणलाई निजको निवासमै पुगेर पक्राउ गरेको हो ।
अरूणसँगै सीआईबी टोलीले अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ । थापा बाँसबारी छालाजुत्ता कारखानाका बोर्ड अध्यक्ष थिए
बाँसबारी छालाजुत्ता कारखानाको कम्तिमा १० रोपनी जग्गा हडपेको आरोपमा चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।
स्रोतका अनुसार दाजु विनोद चौधरीले ३७ वर्षअघि नै सो जमिन हडपेका थिए । अहिले त्यसको सम्पूर्ण स्वामित्व अरूण चौधरी र उनकी पत्नी शिला चौधरीको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ । सीजी चाँदबाग रेसिडेन्सी प्रालिको अध्यक्षका रूपमा अरूणलाई पक्राउ गरिए पनि जग्गा हडप्ने काममा भने दाजु विनोदकै सक्रियता रहेको र उनले तत्कालीन राजदरबारसँगको सम्बन्धलाई दुरुपयोग गरेर उक्त जग्गा हात पारेको बताइन्छ ।
चौधरी ग्रुपले बाँसबारी जग्गा हडपेको प्रकरणमा १५ महिनाअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । राजनीतिक प्रभावका कारण अख्तियारले अनुसन्धान अघि नबढेपछि यो मामिलामा सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।








































