रुस र युक्रेनबीच युद्ध सुरु भएको दुई वर्ष पूरा हुन लागेको छ । यो युद्धमा रुस र युक्रेन दुवै देशले विदेशी नागरिकलाई आफ्नो सेना बन्न प्रोत्साहित गरिरहेका छन् ।
आकर्षक तलब, सेवा सुविधा र नागरिकता पाउने भएकाले पनि विदेशी नागरिकहरू रुसी र युक्रेनी सेनामा भर्ती भइरहेका छन् । रुसले विदेशी नागरिक रुसी सेनामा भर्ती भएमा ६ महिनासम्म युक्रेनमा गएर युद्ध लड्नैपर्ने नियम बनाएको छ । यसो भएमा उनीहरूले रुसको नागरिकता पाउनेछन् ।
यसबीचमा युक्रेनले पनि विदेशी नागरिक र युक्रेनी मूलका विदेशी नागरिकता भएका व्यक्तिलाई लक्षित गर्दै दोहोरो नागरिकतासम्बन्धी नयाँ कानुन बनाइरहेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले दोहोरो नागरिकतासम्बन्धी कानुन बनाउन लागेको जानकारी दिएका हुन् ।
उनका अनुसार यो कानुनले विदेशी नागरिक जो युक्रेनको सेनामा भर्ती छन्, उनीहरूलाई र युक्रेन मूलका विदेशी नागरिकलाई फाइदा पुग्नेछ । जनवरी २२ मा युक्रेनले एकता दिवस मनाउँदै गर्दा जेलेन्स्कीले नयाँ कानुनबारे जानकारी दिएका हुन् ।
उक्त कानुन बनेपछि युक्रेनको सेनामा भर्ती भएका विदेशी नागरिकले आफ्नो देशको नागरिकता नत्यागी युक्रेनको नागरिकता पाउनेछन् साथै युक्रेनी मूलका विदेशी नागरिकताधारी व्यक्तिहरूले पनि युक्रेनको नागरिकताका लागि आवेदन दिन पाउनेछन् ।
अहिलेसम्म युक्रेनमा कुनै पनि देशका नागरिकले युक्रेनको नागरिक बन्न चाहेमा आफ्नो देशको नागरिकता त्याग्नै पर्ने व्यवस्था थियो । ५५ देशका २२ हजार नागरिकहरू युक्रेनी सेनामा भर्ती भएको बताइन्छ, यो संख्या अझ बढी पनि हुन सक्छ । किभको दोहोरो नागरिकता कानुनले रुसविरुद्ध युद्ध गरिरहेको युक्रेनमा थप विदेशी सेना आकर्षण गर्ने अनुमान गरिएको छ ।







































