काठमाडौंको बालकुमारी र सर्लाहीको बरहथवामा प्रहरीको गोली प्रहारबाट निर्दोष नागरिकको मृत्यु भएको भन्दै नेपाल प्रहरीको भिड नियन्त्रण शैलीमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दर्ता गराएका हुन्। उक्त रिटको पहिलो पेसी माघ ४ गतेका लागि तोकिएको छ।
भिड नियन्त्रणका लागि प्रयोग गर्ने मेटल बुलेट वा प्राणघतक हतियारको प्रयोग तत्काल रोक्नुपर्ने माग रिटमा गरिएको छ। रिटमा सात वटा माग उठाइएको छ। जनप्रदर्शन एवं भिड नियन्त्रणका लागि घातक हतियार एवं मेटल बुलेटको प्रयोगलाई प्रतिबन्धित गरिनुपर्ने माग रिटमा गरिएको छ।
‘भिड नियन्त्रणका लागि अत्यधिक बल प्रयोग एवं हिंसात्मक साधनको प्रयोगलाई बर्जित गरिनुपर्छ,’ रिटमा भनिएको छ, ‘भिड नियन्त्रणको अहिंसात्मक तौरतरिकाबारे प्रदर्शन व्यवस्थापनका लागि खटिने प्रहरीहरुलाई अनिवार्य प्रशिक्षण दिनुपर्ने र यसलाई अनिवार्य रुपमा प्रहरीको ट्रेनिङ म्यानुअलमा समावेश गर्नुपर्ने देखिन्छ।’








































