प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई २ सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनायो ।
उसका लागि मध्यक्रमका ब्याटर सन्दीप जोराले शतकीय इनिङ खेले । ११७ बलको सामना गरेका उनले ७ चौका र ५ छक्कासहित ११२ रन बनाए । सन्दीप रनआउट भएका हुन् ।

यस्तै, लोकेश बमले २७, अमर रौटेलाले २२, अविनाश बोहराले अविजित १८, आसिफ शेखले १५, प्रज्वल शाही र भुवन कार्कीले १०/१० रन जोडे । बागमतीका लागि सूर्य तामाङले तीन, प्रतिश जिसी र रिजन ढकालले दुई/दुई तथा सोनु देवकोटाले एक विकेट लिए ।
बागमती प्रतियोगितामा दोस्रो म्याच खेल्दै छ । ऊ पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६८ रनले पराजित भएको थियो । एपिएफ भने पहिलो खेल खेलिरहेको हो ।









































