काठमाडौं । प्रतिनिधिसभामा दर्ता भएको शिक्षा सम्बन्धी विधयेकलाई लिएर असन्तुष्ट शिक्षकहरुले शुक्रबार पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । बानेश्वर-माइतीघर सडकमा सवारी आवागमन ठप्प पारेर उनीहरुले नाचगानसहित प्रदर्शन गरेका हुन् ।
अहिले शिक्षकहरुले बानेश्वरस्थित एभरेस्ट होटल अगाडि प्रदर्शन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा भएको काठमाडौं केन्द्रित आन्दोलनमा देशभरबाट शिक्षकहरु आएका छन् ।
शिक्षकहरुको प्रदर्शनका कारण शुक्रबार पनि काठमाडौंको सवारी आवागनमा असहज भएको छ । वैकल्पिक मार्गको प्रयोग गरेर सावारी साधनहरु सञ्चालन भइरहेका छन् । जसका कारण खोला किनारका सडकमा समेत जाम बढेको छ ।
उनीहरुले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरुले १७ बुँदे माग अघि सारेका छन् ।








































